कोरोना जोखिम बढेसँगै मुख्य शहरहरुमा धमाधम लकडाउन, कडा लक्षणसहितका संक्रमित भेटिन थालेपछि देशभर फेरि लकडाउन गर्न सुझाव

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार १७:५९


काठमाण्डौ – सरकारले बन्दाबन्दी(लकडाउन)को अन्त्य भएको घोषणा गरेसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । बन्दाबन्दीको अन्त्य भएपछिको ११ दिनमा सङ्क्रतिको सङ्ख्या ०.८ प्रतिशतले बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

लकडाउन खोल्नुअघिका ११ दिनमा ४७ हजार ८७७ नमूना परीक्षण गर्दा २.८ प्रतिशत अर्थात् एक हजार ३४५ जनामा सङ्क्रमण देखिएको थियो । त्यस्तै लकडाउन खुलेपछिको ११ दिनमा ५८ हजार १७४ नमूना परीक्षण गर्दा दुई हजार ९२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । सरकारले यही साउन ६ गते मध्यरातदेखि बन्दाबन्दीको अन्त्य भएको घोषणा गरेको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा छ हजार ९९३ नमूना परीक्षण गर्दा थप ३१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज सबैभन्दा बढी कैलालीमा ८९ जनामा सङ्क्रमण देखिएको छ । यस्तै बझाङमा ६८, पर्सामा ६६, अछाममा २८, इलाममा २२, कञ्चनपुरमा नौ, सप्तरीमा सात, सिरहा र काठमाडौँमा पाँच÷पाँच, मोरङ, झापा, रामेछाप र रुपन्देहीमा दुई÷दुई, सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की र सल्यानमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २० हजार ८६ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म ७२.१ अर्थात् १४ हजार ४९२ जना कोरोनामुक्त भई ‘डिस्चार्ज’ भएका छन् । पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेश नं १ को भोजपुर र सङ्खुवासभा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।

हालसम्म प्रदेश नं १ बाट ८५६, प्रदेश नं २ बाट तीन हजार १४९, वाग्मती प्रदेशबाट ५३२, गण्डकी प्रदेशबाट एक हजार २५६, प्रदेश नं ५ बाट तीन हजार ९७१, कर्णाली प्रदेशबाट एक हजार ७१८ र सुदूरपश्चिम प्रदेशबाट तीन हजार १० कोरोनालाई जितेर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ५६ जनाले ज्यान गुमाएका छन् । पाँच हजार ३३८ सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रदेश नं २ को रौतहट र सुदूरपश्चिम प्रदेशको कैलालीमा अझै पनि ५०० बढी सक्रिय सङ्क्रमित उपचार गराइरहेका छन् ।

सरकारले पिसीआर परीक्षणको सङ्ख्या वृद्धि गरेपछि क्वारेन्टिनमा बस्ने व्यक्तिको सङ्ख्या पनि घटेको छ । अब क्वारेन्टिनमा ११ हजार ५२३ रहेका छन् । प्रदेश नं १ मा एक हजार २५४, प्रदेश नं २ मा एक हजार ५७३, वाग्मती प्रदेशमा ८५२, गण्डकी प्रदेशमा दुई हजार ९५३, प्रदेश नं ५ मा एक हजार ५३६, कर्णाली प्रदेशमा ४४३ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ९२२ क्वारेन्टिनमा रहेका छन् ।

सरकारले समुदायमा कोरोना फैलन नदिन विदेशबाट फर्किएका व्यक्तिलाई क्वारेन्टिनमा राख्दै आएको छ । निश्चित समय क्वारेन्टिनमा बसेपछि स्वाबको नमूना परीक्षण गरेर नतिजा ‘नेगेटिभ’ आएमा होम क्वारेन्टिनमा बस्न आग्रह गर्दै पठाउने गरेको छ । हालसम्म तीन लाख ८२ हजार ४९० नमूना आरटी–पिसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । शुक्रबार अहिलेसम्मकै सर्वाधिक १० हजार नमूना आरटी–पिसीआर विधिबाट परीक्षण गरिएको थियो ।

विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ बाट हालसम्म विश्वभर एक करोड ७७ लाख ७१ हजार ३०८ सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये छ लाख ८३ हजार २६६ जनाले ज्यान गुमाएका छन् भने एक करोड ११ लाख ६७ हजार ८३९ कोरोनामुक्त भएका छन् ।

कडा लक्षणसहितका संक्रमित भेटिन थालेपछि देशभर फेरि लकडाउन गर्न सुझाव

बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले  आयोजना गरेको ‘कोभिड– १९ बन्दाबन्दीपछिको अवस्थाः बढ्दो जोखिम र अपनाउनुपर्ने सुरक्षा व्यवस्था’ विषयक भर्चुअल कार्यक्रममा कोभिड– १९ को जोखिमबाट बच्न सुरक्षाका उपाय अपनाउन सुझाव दिइएको छ ।

पछिल्लो समय नेपालमा भेटिएका कोरोना भाइरस (कोभिड-१९) संक्रमितहरुमा कोरोनाको कडा लक्षण देखिन थालेको छ। साउन ७ गतेदेखि लकडाउन हटाएयता १४ जना संक्रमितले ज्यान गुमाइसकेका छन्। लकडाउन खुलेर सडक र बजारमा भीड बढ्न थालेपछि भेटिएका संक्रमितमा कडा लक्षण देखिएर र गम्भीर हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुन: लकडाउन गर्नेसम्मको सुझाव दिन थालेको छ।

मन्त्रालयले लक्षणसहितका संक्रमित बढ्न थालेपछि गत साउन ११ गते नै गृह मन्त्रालयलाई पत्र पठाएको हो। मन्त्रालयले तत्कालै जोरबिजोर प्रणाली सुरु गरेर यातायातको साधन चलाउन भनेको छ। त्यस्तै नाकामा कडाइ गर्न पनि भनिएको जनाएको छ। गृहमन्त्रालयले बिहीबारै काठमाडौं भित्रिने नाकाबाट राति ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश निषेध गरिसकेको छ। मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीका अनुसार मन्त्रालयले गत साउन ११ गते नै पत्र पठाएर पुन: जोरबिजोर प्रणालीमा यातायातका साधन चलाउन आग्रह गरेको बताएका छन्। ‘हामीले नाकामा कडाइ गर्न र पुन जोर बिजोर गर्न ११ गते नै पत्र पठाइ सकेका छौँ’, उनले भने।

हटेको सवारी साधन सञ्चालन गर्ने जोरबिजोर प्रणाली पुन: कायम गर्न स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी पठाएको छ। लकडाउनपछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरु घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको छ। यस्तोमा कोरोना संक्रमण दरसमेत उकालो लागेको भन्दै स्वास्थ्यले फेरि जोरबिजोर प्रणाली लागू गर्न चिठी पठाएको हो। उनले एउटै चिठीमा जोरबिजोरसँगै काठमाडौँ उपत्यका छिर्ने नाकामा बेलुकी ७ देखि विहान ७ बजेसम्म सवारी आवागमन रोक्न भनिएको बताए। उपत्यका प्रवेश नाकामा गृहमन्त्रालयले आजैदेखि कडाइ गरिसकेको छ। थप समस्या र संक्रमित दुवै बढेर संक्रमण नियन्त्रण बाहिर जाने सम्भावनातिर हालको संक्रमण अघि बढेको स्वास्थ्यको निचोड छ।

यस्तो अवस्थामा पुन: एक पटक देशभर कडा लकडाउन गर्नुपर्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन्। ‘केही दिनयता संक्रमितमा जुन लक्षण देखिएको छ, यसले अब परिस्थिति खतरातिर जान सक्ने देखाएको छ’, मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यस्तो बेलामा अहिलेबाटै सतर्क रहन पुन: एक पटक कडा लकडाउन गर्नु पर्ने अवस्था छ।‘ आइसियुमा संक्रमित लकडाउनपछि भेटिएका संक्रमितमा गम्भीर लक्षण देखिएसँगै उनीहरुलाई आइसियु र भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आएको छ। केही सातअघि पहिलो पटक रौतहटका एक बिरामीको काठमाडौंमा भेन्टिलेटरमै ज्यान गएको थियो। तर लकडाउन खुलेसँगै संक्रमण देखिएका बिरामीहरुलाई भेन्टिलेटरमा राख्दा पनि बचाउन नसकिने अवस्था आएको हो।

केही दिनअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मोरङका ४५ वर्षीय पुरुषको ज्यान गएको थियो। मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी बागमती प्रदेशमा १५ जना संक्रमित आइसियुमा छन्। त्यसपछि प्रदेश नम्बर २ मा ५ जनालाई आइसियुमा राखेर उपचार भइरहेको छ। मन्त्रालयको तथ्यांक अनुसार प्रदेश ५ र कर्णाली प्रदेशमा २ र२ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ।

पछिल्लो समय नेपालमा भेटिएका नयाँ संक्रमितहरुमा कोरोनाको कडा लक्षण देखिएपछि सतर्कता बढाइएको छ। संक्रमितमा लक्षण देखिनु गम्भीर चुनौती हो भने लकडाउन खुलेसँगै संक्रमित बढ्दै जाँदा अवस्था नियन्त्रण बाहिर जान सक्नेतर्फ विज्ञहरुले सचेत गराएका छन्। नेपालमा दुई दिनयता सातजनाले ज्यान गुमाएका छन्। हालसम्म ५६ जना संक्रमितले ज्यान गुमाइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको जनाएको छ। जसमध्ये ५ हजार बढी सक्रिय संक्रमितको उपचार भइरहेको छ।

काठमाडौँ मेडिकल कलेजको कम्युनिटी मेडिसिन विभागका प्रमुख डा सुनीलकुमार जोशीले राजधानीमा समेत बढिरहेको कोरोनाको जोखिममा समुदायले आफैँ सुरक्षाको व्यवस्था गर्नुपर्ने सुझाव दिए “कोभिड १९ नयाँ रोग भएकाले यस रोगको विशेषज्ञ कोही पनि नभएको र ठाउँअनुसार यसको स्वरुप र लक्षणसमेत फरक देखिएको छ, मास्क लगाउनु, साबुन पानीले हात धुनु वा ७० प्रतिशत अल्कोहल भएको सेनिटाइजरले हात धुनुपर्छ”, डा जोशीले भने, “कम्तीमा एक मिटरको दूरी राख्नु र पर्याप्त हावाको आवागमन हुने स्थानमा बस्नु यसबाट बाँच्ने उपाय हो ।”

प्रत्येक दोस्रो व्यक्ति कोरोना लागेको सम्झेर सबैले आफ्नो सुरक्षा व्यवस्था गर्नुपर्ने सुझाव दिँदै उहाँले रोग लागेपछि उपचार नभएकाले लाग्न नदिनुतर्फ ध्यान दिनुपर्नेमा बन्दाबन्दीपछि धेरैले सुरक्षा सतर्कता नअपनाएकाले पनि जोखिम बढेको बताए । काठमाडौँ मेडिकल कलेजमा आएका नशाका बिरामी र सुत्केरी महिलाको शल्यक्रिया गरी घर पठाएपछि उनीहरुमा कोभिड– १९ भएको पुष्टि हुँदा सबै डराएर ४०० भन्दा बढी स्वास्थ्यकर्मी र सहयोगीको पिसिआर गर्दा एक जनालाई पनि कोरोना नभएको अनुभव डा जोशीले सुनाए । कोरोनाको उपचारको औषधि नभएको अवस्थामा बिरामीलाई भएको अरु दीर्घ रोगको औषधि दिनुका साथै नियमितरुपमा मानसिक परामर्श, मनोरञ्जनको व्यवस्था, इन्टरनेटको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

कोरोना जोखिम बढेसँगै मुख्य शहरहरुमा धमाधम लकडाउन

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि देश फेरि लकडाउनतर्फ उन्मुख भएको छ । स्वास्थ्य क्षेत्रका विज्ञ र जानकारहरुले पछिल्लो समय कोरोना भाइरस झन् खतरनाक बनेको र समुदायमा फैलन थालेको भन्दै केही समय लकडाउनको सुझाव दिएपछि सरकार गम्भीर भएको छ ।
स्वास्थ्य मन्त्रालयमा समेत लकडाउनबारे छलफल भएको छ । ७ साउनबाट लकडाउन अन्त गरिएपनि फेरि कडाई गर्नुपर्ने सुझावहरु दिइएको बुझिएको छ । त्यसबारे थप छलफलका लागि मन्त्रिपरिषद्सम्म प्रस्ताव लाने तयारी बढेको स्रोतले जानकारी दिएको छ ।

विराटनगर महानगरपालिकामा दुई हप्ता लकडाउन घोषणा भइसकेको छ । वीरगञ्ज महानगरपालिकामा पनि कडाई गरिएको छ भने बाँकेमा पनि भोलि देखि पुर्णरुपमा बन्द हुदै छ । काठमाडौं उपत्यकामा राति प्रवेशमा कडाई गरिएको छ । अब उपत्यकामा कोरोना संक्रमण फैलिन थालेपछि लकडाउनको तयारी भएको बुझिएको छ । उपत्यकामा दिनहुँजसो संक्रमितको संख्या बढेको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण खतरनाक देखिएको छ । संक्रमितको संख्या बढ्दै गएपछि जोखिम बढेको छ । यसलाई दृष्टिगत गरी सरकारमाथि रोकथामको उपाय अबलम्बन गरी लकडाउन फेरि गर्न दबाब बढेको हो ।

यसअघि आपूर्तिमन्त्री लेखराज भट्टले रिपोर्टर्स क्लब नेपालमा बोल्दै जोखिम हेरेर कोरोना रोकथामका लागि निश्चित स्थानमा निश्चित समय निर्धारण गरी लकडाउन आवश्यकता अनुसार लगाइने खुलाएका थिए । उनले भनेजस्तै सकरारले देशैभर लकडाउन नगरेपनि निश्चित स्थानमा जोखिमलाई दृष्टिगत गरी लकडाउन गर्ने नीति बनाइसकेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्