कुवेतद्वारा नेपालसहित ३० भन्दा बढी मुलुकका यात्रुलाई प्रवेशमा प्रतिबन्ध

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १७:४७


कुवेत सिटी – खाडी मुलुक कुवेतले भारत र चीन समेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरुलाई एक पत्र लेख्दै सरकारको उक्त आदेश पालना गर्न आग्रह गरेका छन् ।

कुवेत सरकारले सार्वजनिक गरेको पछिल्लो सूचीमा समावेश मुलुकहरुमा नेपाल सहित भारत, इरान, चीन, ब्राजिल, कोलम्बिया, आर्मेनिया, बंगलादेश, फिलिपिन्स, सिरिया, स्पेन, सिंगापुर, बोस्निया हर्जगोभिना, श्रीलंका, इराक, मेक्सिको, इन्डोनेसिया, चिली, पाकिस्तान, इजिप्ट, लेबनान, हङकङ, इटाली, मोल्डोभा, पनामा, बेरुत समेतका छन् ।

कुवेतले व्यावसायिक उडानहरु आंशिक खुला गरिएकै दिन कुवेत सरकारले नयाँ प्रतिबन्धहरु घोषणा गरेको खालिज टाइम्सले जनाएको छ । समाचार अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि करिब ३० प्रतिशत खुला हुनेछ । अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कुवेतमा हालसम्म ६७ हजार ४४८ जनामा कोरोना संक्रमण देखिएको र ४५३ जनाको मृत्यु भएको थियो ।

विश्वभरी मृत्यु भएकाहरुको संख्या ६ लाख ८९ हजार

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आइतबार दिउँसोसम्म कुल मृतकको संख्या छ लाख ८९ हजारभन्दा बढी पुगेको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार कोरानाका कारण कुल मृतकको संख्या छ लाख ८९ हजार ७० पुगेको हो । त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि एक करोड ८० लाख ३३ हजार २७९ पुगेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ । सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ४७ लाख ६४ हजार ५२२ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ५७ हजार ९०१ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा २७ लाख आठ हजार ८७६ जना सङ्क्रमित भएका छन् भने ९३ हजार ६१६ जनाको मृत्यु भएको छ ।

भारतीय उत्तर प्रदेशमा मन्त्रीको मृत्यु

भारतमा प्रदेश मन्त्री कमल रानी वरुणको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । उत्तर प्रदेशकी मन्त्री रानीको निधन भएको प्रदेश सरकारका प्रवक्ताले पुष्टि गरेका छन् ।उहाँसँगै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८५३ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या भने ३७ हजार ३६४ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ७३६ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमितको संख्या साढे १७ लाखभन्दा बढी पुगेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्