कोरोनाका कारण काठमाडौंमा जुनै बेला भयावह स्थिति आउन सक्ने

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १८:३१


काठमाण्डौ – देशभरमा आज थप २४६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा आठ हजार ८६१ जनाको पिसीआर नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता डा गौतमका अनुसार कोभिड–१९ बाट सङ्क्रमण मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १११ रहेको छ । योसँगै १४ हजार ६०३ सङ्क्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । हाल क्वारेन्टिनमा १० हजार ९३४ जना रहेका छन् । सङ्क्रमितमध्ये ७२ प्रतिशत निको भएको र मृत्यु हुनेमा ०.२८ प्रतिशत रहेको छ ।

काठमाडौँ उपत्यकामा आज थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा २२, ललितपुरमा आठ र भक्तपुरमा एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । पर्सामा शनिबार साँझ ६८ वर्षकी एक महिलाको निधन भएको छ । मधुमेहको बिरामी उक्त महिलामा यही साउन १६ गते कोरोना पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार रौटहट र कैलाली जिल्लामा पाँच हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ भने भोजपुर, सङ्खवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच वटा जिल्ला कोरोना सङ्क्रमण शून्य रहेको छ । प्रवक्ता डा गौतमले ६० वर्षमाथिका र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह गर्नुभएको छ ।

उहाँले सरकारले यही साउन १४ गते कोभिड–१९ का विषयमा गरेको निर्णयअनुसार आरडिटी परीक्षण नगर्ने निर्णय भएको हँुदा केन्द्र तथा प्रदेश सरकार सबैले उक्त निर्णयको पालना गर्न आग्रह गर्नुभयो । मन्त्रालयका अनुसार उपत्यका छिर्ने नाकाहरु नागढुङगा, फर्पिङ र साँगाबाट यही साउन १० गतेदेखि १३ गतेसम्म सङ्कलन भएको १० हजार ८२७ नमूना परीक्षण भइरहेको छ । मास्क, सेनिटाइजर प्रयोग गरी सुरक्षित रहन प्रवक्ता डा गौतमको आग्रह छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढेको बताउनु भएको छ । मन्त्री ढकालले संक्रमण अझै बढ्दै गयो भने उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउने बताउनु भएको हो । उंहाले यो अवस्थालाई मध्यनजर गरेर सबैले सचेत रहनुपर्ने जनाउनुभएको छ । उंहाले उपत्यकामा संक्रमण नियन्त्रण गर्न नयाँ रणनीति अनुसार अगाडि बढ्न लागेको बताउनुभयो ।

‘बाहिरी जिल्लाबाट उपत्यका आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्ने र पिसिआर परीक्षणलाई बढाउने तयारी छ,’ मन्त्री ढकालले भन्नुभयो । उंहाले काठमाडौंजस्तो ठूलो जनघनत्व रहेको वस्तीमा संक्रमण सल्कियो भने त्यो नियन्त्रण बाहिर जाने बताए। उंहा भन्छन्, ‘काठमाडौंमा आगोजसरी सल्कियो भने त्यो अरु गाउँमा वा सानो सहरमाभन्दा विस्फोटक हुनसक्छ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्