काठमाडौंमा संक्रमित बढेपछि कहिले देखि हुँदैछ फेरी लकडाउन ? मन्त्री ढकालले गरे खुलासा

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार २०:४८


काठमाडौं । दिनहुँ कोरोनाका नयाँ संक्रमित थपिएपछि मन्त्रालयले काठमाडौंमा नयाँ रणनीति अपनाउन थालेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकार नयाँ रणनीति अनुसार नियन्त्रण गर्ने गरी अगाडि बढ्न लागेको जानकारी दिएका छन् । उनले अब बाहिरी जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई अनिवार्य क्‍वारेन्टाइनमा राख्‍ने, जोरबिजोर प्रणालीबाट गाडी चल्न दिने र पिसिआर परीक्षणको दायरालाई पनि बढाउने बताएका छन् । मन्त्रालय अब यहि नयाँ योजना साथ अघि बढ्ने उनले बताएका छन् ।

काठमाडौंमा सानो हेलचेक्र्याइँले कोरोनाको डढेलो लाग्‍न सक्ने भएकाले तत्काल मन्त्रालयको योजना लागू गर्ने तयारीमा रहेको पनि उनले बताएका छन् । हामीले पिसिआर परीक्षण बढाउँदै समुदायस्तरमा पनि स्वाब संकलन गर्नुपर्छ। काठमाडौंमा होम क्‍वारेन्टाइन र स्थानीय क्‍वारेन्टाइनको ग्यारेन्टी गर्न सक्नुपर्छु, उनले भने, ‘यदि त्यसो भएन भने यति सघन जनसंख्या रहेको काठमाडौंमा आगो सल्किने सम्भावना छ।’

उनले काठमाडौंमा कोरोना संक्रमितको संख्या यसरी नै बढ्दै जाने हो भने नियन्त्रण गर्न नसकिने बताएका छन् । सानो शहरमा भन्दा काठमाडौंमा बढी चुनौती रहेकाले सम्बेदनशिल भएको उनको भनाई छ । अहिले देखिएको संक्रमितको दरको अवस्थाको वृद्धिदर अझै बढ्दै गएमा काठमाडौं उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन उनले आग्रह गरेका छन्। ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्‍वारेन्टाइनमा राख्‍ने गरी व्यवस्थापनमा हामीले जोड दिनुपर्ने उनको भनाई छ ।

दोस्रो गाडी पनि जोरबिजोर प्रणालीमा गइयो भने एक हदसम्म आवश्यकतालाई पनि पूर्ति गर्न सकिने भएकाले पनि त्यस्तो योजना बनाएको उनको भनाई छ ।अतिआवश्यक ठाउँमा हामीले पिसिआरका निम्ति स्वाब संकलन गर्ने निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाएर तलसम्म जाने गरी लाग्‍नुपर्छ। उनले भने ।

पिसिआर परीक्षण बढाउँदै समुदायस्तरमा पनि स्वाब संकलन गर्नुपर्ने योजनामा मन्त्रालय रहेको मन्त्री ढकालको भनाई छ । सरकारले लागू गरेका नियम र मापदण्डलाई पालना नगर्दा फेरि कोरोनाको स्थिति बढ्ने अवस्थामा देखिएको उनले बताए। लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र कोरोना देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको उनले तर्क छ ।

काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा कोरोना पुष्टि भएको देखिनुले पनि अब आवागमनलाई कडाई गर्नुपर्ने मन्त्री ढकालको भनाई छ । वीरगन्जमा देखिएको स्थिति हेर्दा त्यहाँ सिल गरेर जानुपर्ने जरुरी रहेको उनको भनाइ थियो। आवतजावत पूर्णरुपमा बन्द गर्नुपर्ने जरुरी रहेको उनको भनाइ छ। तर लकडाउनमा सबै नागरिकले साथ दिएकाले कोरोना रोक्न केही हदसम्म सफल भएको उनले बताए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्