कोरोनाको आतंक : मुलुकका ७ शहरमा लाग्यो कर्फ्यू

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार २१:३१


जनकपुरधाम । कोरोना संक्रमितको संख्या थामिनसक्नु हुन लागेपछि त्यसलाई रोक्न मुलुकका विभिन्न ६ शहरमा कर्फ्यू आदेश जारी गरिएको छ । समुदाय स्तरमै कोरोना फैलिएपछि थप अवस्था विग्रन नदिन कर्फ्यू जारी गरिएको हो । प्रदेश २ को ६ जिल्ला सदरमुकाम र प्रदेश ५ को नेपालगन्जमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रदेश २ मा कोरोना समुदाय स्तरमै फैलिएको हो । त्यहाँका ६ शहरका बढी भिडभाड हुने स्थानमा निषेधाज्ञा लगाइएको छ । सप्तरी सदरमुकाम राजविराज, प्रदेशको अस्थायी राजधानी जनकपुरधाम, महोत्तरी जलेश्वर, रौतहट गौर, बारा कलैया र पर्साको बिरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ । समुदाय स्तरमै फैलिएको कोरोना भयावह रुप लिन थालेपछि स्थानिय प्रशासनले कर्फ्यू लगाउने निर्णय गरेको हो । त्यस्तै प्रदेश ५ को नेपालगन्जमा पनि समुदाय स्तरमै कोरोना फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ ।

समुदाय स्तरमा कोरोना फैलिएको निष्कर्ष स्थानिय तहले निकालेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार राति १२ बजेदेखि सात दिने निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । यता बाँकेको नेपालगन्जमा आइतवार देखि ३ दिन निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् ।

यसैगरी महोत्तरी जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल चारकिलाको क्षेत्रमा पाँच दिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको जनाए । त्यसैगरी जिल्लाको महोत्तरी गाउँपालिका ३ र ५ वडामा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रशासनले निषेधाज्ञा अवधिमा ‘मास टेस्टिङ्ग’ तिव्रता दिने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका छन् । ‘ट्राभल हिस्ट्रि’ नभएका र संक्रमितको सम्पर्कमा नआएका केही व्यक्ति पनि संक्रमित भएपछि निषेधाज्ञा लगाउनु परेको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्