काठमाण्डौ – नेपालमा कोरोनाभाइरसका कारण थप चार जनाको मृत्यु भएको र ६३८ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २३,९४८ छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७,२०१ जनामा सक्रिय सङ्क्रमण छ। अहिलेसम्म भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १६,६६४ पुगेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। विगत २४ घण्टामा १७१ निको भएका थिए। विगत छ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ।
मन्त्रालयले सोमवार ३३८ जनामा सङ्क्रमण भएको र चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो। यसअघि असार ४ गते ६७१ जना र साउन १९ गते ७४० जनामा सङ्क्रमित फेला परेका थिए। मङ्गलवार पुष्टि भएको सङ्ख्या दैनिक वृद्धि भएको सङ्क्रमितको तेस्रो उच्च सङ्ख्या हो।
अहिले पुष्टि भएका मृतकमध्ये दुई जना धनुषाका र एक-एक जना काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाका हुन्। मन्त्रालयका अनुसार अहिले काठमाण्डौ उपत्यकामा सर्वाधिक १३४ सङ्क्रमित फेला परेका हुन्। तीमध्ये काठमाण्डूका ११०, ललितपुरका १६ र भक्तपुरका आठ जना छन्।
त्यसैगरी पर्सामा ७० जना, बारामा ३९ जना, मोरङमा ३८ जना र सुनसरीमा ३३ जनामा कोभिड-१९ पुष्टि भएको हो।मन्त्रालयका अनुसार अहिले पर्सा, रौतहट, महोत्तरी र काठमाण्डौ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ।अहिलेसम्म सङ्क्रमित भएका स्वास्थ्यकर्मीको सङ्ख्या १८३ पुगेको छ।
प्रदेश नं २ मा सर्वाधिक ३,३४७ र वाग्मतीमा १,३५२ सक्रिय सङ्क्रमित छन्। देशभरि २२४ सङ्क्रमित घरमै आइसोलेशनमा र गम्भीर समस्या भएका ८३ सङ्क्रमित सघन उपचारमा छन्। तीमध्ये तीन जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार क्वारन्टीनमा रहेका मानिसको सङ्ख्या ११,००० भन्दा केही बढी छ।