सहमति गर्न राष्ट्रपतिले बोलाउँदा पनि गएनन् प्रचण्ड, इश्वर पोखरेलसंग यस्तो सन्देश पठाए



काठमाडौ । सत्तारूढ दल नेकपाभित्र देखिएको विवाद समाधानका लागि राष्ट्रपतिले चालेको अन्तिम प्रयास पनि असफल देखिएको छ । पार्टी विभाजन समेत हुनसक्ने गरी भइरहेको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बादका लागि पुष्पकमल दाहाल प्रचण्डलाई शितल निवास वोलाएको भएपनि प्रचण्ड सहभागी भएनन् ।

राष्ट्रपतिले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई संगै राखेर छलफल गर्न दुवै जनालाई शितल निवास बोलाएको बताइएको छ । तर प्रचण्ड नगएपछि त्यो प्रयास पनि सफल नभएको हो । शुक्रवार शितल निवास नगएर प्रचण्ड अरुसंगको छलफलमा ब्यस्त भएका थिए ।

प्रचण्डले आफूलाई भेट्न आएका उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेलसंग खुमलटारमा छलफल गरेर रास्ट्रपतिलाई सन्देश पठाएका थिए । तर आफै चाहिँ राष्ट्रपति कार्यालय शितल निवास गएनन् ।

प्रचण्डले शितल निवास जाने वा नजानेबारे वरिष्ठ नेता माधवकुमार नेपालसंग परामर्श गरे पछि नजाने निर्णयमा पुगेको बुझ्न सकिन्छ । उनले इश्वर पोखरेलसंग दुई अध्यक्षबीच मात्र छलफलवाट अब समाधान ननिस्कने जवाफ पठाइदिएको बताइएको छ ।

बिहीवार नै रास्ट्रपतिलाई भेटेर सबै समस्याको जड प्रधानमन्त्री ओली नै रहेको र यस पटक ओली सच्चिनुपर्ने भन्दै राष्ट्रपतिलाई जवाफ दिएर फर्किएका प्रचण्ड शुक्रवार शितल निवास जान नचाहेका हुन् ।

शनिवारका लागि तय गरिएको सचिवालय बैठकमा प्रधानमन्त्री उपस्थित भएर आफ्ना कुरा राख्नुपर्ने प्रचण्डको अडान छ । शनिबार १ बजे बैठक बस्नुअघि प्रचण्डलाई सहमतिमा ल्याउन बालुवाटार र शितलनिवासले अन्तिम प्रयास गर्दैछ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्