काठमाण्डौ । नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘तमू (गुरुङ) समुदायको तमू ल्होछार ल्होसार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हिको अवसरमा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आ–आफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइदै आएका यी चाडपर्वहरु यो वर्ष कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै पूर्व सावधानीका उपाय अवलम्बन गर्दै मनाउन सबैमा आग्रह पनि गरेका छन् ।
‘नेपाल धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा आफ्नो मौलिक परम्परा भएको देश हो । हाम्रा यिनै सामाजिक र सांस्कृतिक मूल्य मान्यता सहितका परम्पराहरु बीचको आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको हो,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘विविधता भित्रको एकता नेपाली समाजको विशेषता हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पनि नेपाली समाजमा भएका यिनै विभिन्न समुदायका अधिकार र पहिचानलाई मुर्तिकृत गरेको छ । ’
यतिखेर जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेको उनले बताएका छन् । पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्ने हुन् कि भन्ने खतरा पैदा भएको भन्दै आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्नुपर्ने बेला भएको उनले बताएका छन् ।
उनले भने, ‘सबै समुदायहरुका यी उपलब्धी गुम्न नदिन एकतावद्ध भई आन्दोलनमा लाग्न आग्रह गर्दै चाडपर्वहरुको अवसरमा सु–स्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु,’ पछिल्लो समय प्रधानमन्त्री ओलीले प्रतिनीधिसभा विघटन गरेदेखि प्रचण्ड माधव समूहले एक साथ मिलेर प्रधानमन्त्री ओलीको विरोध गर्दै आई रहेका छन् । राजधानीमा मात्र नभई देशका सबै जिल्लाहरुमा प्रचण्ड नेपाल समूहका कार्यकर्ताहरुले ओलीको विरोध गर्दै आन्दोलनको कार्यक्रमहरुलाई अघि सारेका छन् ।