प्रचण्डले भैंसी पूजा गर्नुभएको थियो, प्रधानमन्त्रीले पशुपतिनाथको गर्दा के बिग्रियो ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केही दिनअघि प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरमा पूजाआजा गरेको विषय सर्वत्र प्रशंसा भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गत माघ १२ गते बिहान पशुपतिनाथ मन्दिर पुगेर संकल्प पूजा गर्नुभएको थियो ।

प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली पशुपतिनाथ मन्दिर धाएकोमा चुनावसँग जोडेर चर्चा भइरहेका छन्। प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेको तीन दिनपछि उहाका सल्लाहकार थापाले पुन यो विषयलाई प्रष्टपार्नुभएको छ । सामाजिक सञ्जालमा ओली र प्रचण्डका फोटा राखेर।

पशुपतिनाथमा पूजाआजाका लागि पुगेका प्रधानमन्त्री ओली र भैंसी पूजा गरिरहेका पुष्पकमल दाहाल प्रचण्डका बेग्लाबेग्लै तस्बिर फेसबुकमा राखेर बिहीबार बिहान सल्लाहकार थापाले पशुपतिनाथमा पूजाआजा गरेजस्तो भैंसी पूजा स्वभाविक मानिँदैन भन्नुभएको छ ।

‘प्रधानमन्त्री एवं पशुपति विकास कोषका संरक्षक केपी शर्मा ओलीले माघ १२ गते बिहान ८ :३० बजे श्री पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माण कार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयो,’ उनले लेखेका छन्, ‘सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गर्नुभयो।’

थापाका अनुसार पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको छ। ‘दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ,’ उहाले भन्नुभएको छ । थापाले राखेको दोस्रो तस्बिर प्रचण्डको छ। ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि नेपकपामा प्रचण्ड नेपाल समूह बनाएर प्रचण्ड विरोधका कार्यक्रम गरिरहेका छन्।

‘पुष्पकमल दाहाल प्रचण्डले आफ्नो शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियो। भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिँदैन। बुझ्ने आआफ्नै स्तर हुन्छ।फरकचाहिँ यत्ति हो ’ उहाले भन्नुभएको छ । तत्कालीन माओवादीका अध्यक्ष हुँदा २०६६ माघ २९ मा भैंसी पूजा गरेको भन्दै प्रचण्डको आलोचना भएको थियो। त्यसबेला उनले ग्रह शान्तिका लागि भन्दै भैंसी पूजा गर्नुभएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्