काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राष्ट्रिय सभागृहको एउटै मञ्चमा सहभागी भएका छन् ।
बिहीबार सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर तथा त्यसपछि आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली र महासचिव विप्लव राष्ट्रिय सभागृह पुगेका हुन् । राष्ट्रिय सभागृह जानुअघि प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच बालुवाटारमा छलफल भएको थियो ।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।