खराब मौसमसँगै प्रदुषणले राजधानी उपत्यका ढाकिएको छ। बिहानैदेखि धुम्म काठमाडौं दिउँसो तुवालोले भरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभाव र वायुमण्डलमा जम्मा भएका धुलोका कणका कारण उपत्यका तुवालोले ढाकिएको हो।
काठमाडौंको आकाशमा एक्कासी तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ ।
यस्तै अवस्था रहे काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विमानलाई भने ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।
‘भिजिबिलिटी पनि कम भएको छ। यो अवस्था वर्षा नहुँदासम्म कायम रहने देखिन्छ।’ उनका अनुसार उपत्यकासँगै पहाडी र केही पहाडी भूभागको समेत मौसम बदली भएको छ।
वायु प्रदूषण खतराको तहमा पुगेपछि वातावरण विभागले बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका र मुटुका विरामी सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ।
केही दिन अघिदेखि नै उपत्यकाको आकाश धुम्म भएको थियो। शुक्रबार तुवालोले उपत्यका पूरै ढाकिएको छ। राजधानीबासीको स्वास्थ्यमा यसले नकारात्मक असर पार्ने खतरा देखिन्छ। राजधानीबासीले हावामा धुँवाको गन्ध मात्रै होइन्, आँखा, घाँटी पोल्ने समस्या पनि बढेको अनुभव गरेका छन्। तस्विर तल हेर्नुहोस : तस्विर इताजा खबर