नेपाल प्रहरीको इतिहासमा सबैभन्दा दूरदर्शी र प्रभावशाली प्रहरी महानिरीक्षक बरालको निधन



नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको निधन भएको छ । बरालको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार ९३ वर्षीय बरालको बुधबार महाराजगञ्जस्थित घरमै निधन भएको हो।बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत बनेका थिए । राणा शासनविरूद्ध कांग्रेसले सुरू गरेको सशस्त्र आन्दोलनमा उनी मुक्ति सेनाका सिपाही थिए। उनको आजै दिउँसो अन्तिम संस्कार गरिने छ।

प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि उनले ६ वर्षसम्म बर्माको लागि आवासीय नेपाली राजदूत, इन्डोनेसिया, सिङ्गापुर र फ्रेन्च इन्डो-चाइना (लाओस, कम्बोडिया, भियतनाम)को लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी वहन गरेका थिए। बर्माका लागि नेपाली राजदूतबाट निवृत्त प्राप्त गरेपछि उनी राष्ट्रिय पञ्चायतमा मनोनित सांसद भएका थिए। सांसदको रूपमा सेवा समाप्त गरेपछि उनले युनाइटेड नेसन्स ट्रान्जिसन्ल अथरिटी इन कम्बोडिया (उन्टाक)को प्रमुख सम्पर्क अधिकृत भए।

बराल लोक सेवा आयोगबाट नेपालको तत्कालीन सरकारमा प्रहरी महानिरीक्षकको लागि सिफारिस हुने प्रथम स्नातकोत्तर उतीर्ण प्रहरी अधिकृत हुनका साथै ४४ वर्षको कनिष्ठ उमेरमा महानिरीक्षक हुने प्रथम व्यक्ति हुन्। साधारणतया प्रहरी प्रमुखको कार्यकाल ४ वर्षको हुने भएतापनि नेपाल प्रहरीको इतिहासमा ६ वर्षसम्म प्रहरी महानिरिक्षक जिम्मेवारी वहन गर्ने दुई जना मध्ये उनी र रोम बहादुर थापा हुन्।

आफ्नो कार्यकालमा प्रहरीमा ‘गाँस’ (रासन), ‘बास’ (भवन) र ‘कपास’ (पोशाक) को व्यवस्था गरेर प्रहरीको मनोबल उच्च बनाउन सफल भएकाले उनलाई नेपाल प्रहरीको इतिहासमा सबैभन्दा दूरदर्शी र प्रभावशाली प्रहरी महानिरीक्षक मानिन्छ।

उनी बर्माका लागि नेपाली राजदूत रहँदा बर्मामा अधिकारविहीन शरणार्थीसरह बसिरहेका नेपालीहरूलाई बर्मेली नागरिकता प्रदान गर्नुका साथै बर्मामा पशुपतिनाथ मन्दिर निर्माण गर्दै त्यहाँ भानुजयन्ती मनाउने परम्पराको सुरूवात गरेका थिए।

वि.सं. १९८५, वैशाख ५ मा नवलपरासीको देवचुलीस्थित चुलीबोझा (गाँउ) मा कप्तान बहादुर सिंह बराल र सरस्वती बरालका कनिष्ठ पुत्रका रूपमा खड्गजीत बराल जन्मेका हुन्। सैनिक परिवारमा हुर्केका बरालका पिता तथा सबै दाजुहरू तत्कालीन ब्रिटिस इन्डियन आर्मीको प्रथम गोरखा राइफल्स (दोस्रो बटालियन) मा कार्यरत थिए।

उनका पिता बहादुरसिंह बराल फुटबल र हकीको राम्रो खेलाडी भएकाले बाल्यावस्था देखिनै खेलकूद प्रति उनको अभिरूचि रहेको थियो। उनको जिजु हजुरबुवा रणजीत बराल नेपालको एकिकरणकालमा भक्ति थापासँग अङ्ग्रेजविरुद्ध ल’ड्ने फौजमा थिए। सो ल’डाइँमा नेपाली फौजको बहादुरी देखेर अङ्ग्रेजले नेपालीलाई ब्रिटिस इन्डियन आर्मीमा भर्ना लिने भए जसको फलस्वरूप रणजीत बराल ब्रिटिस इन्डियन आर्मी बनेका थिए। रणजीतका छोरा श्रीधर, श्रीधरका छोरा सर्वजीत र सर्वजीतको छोरा बहादुरसिंह बरालले आफ्नो पारिवारिक परम्परालाई आगाडि बढाए।

उनको बुवा बहादुरसिंह बराल फुटबल र हकीको राम्रो खेलाडी भएकाले बाल्यावस्था देखिनै खड्गजीतको खेलकुदप्रति अभिरूचि रहेको थियो। यसका साथै उनले रवीन्द्रनाथ ठाकुर र आफ्ना पिताको कविता तथा रचनाहरूबाट प्रभावित भएका थिए।

खड्गजीत बरालले भारतको पश्चिम बङ्गालको सेन्ट एन्ड्रयुज उच्च विद्यालयबाट प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए। उनी सोही स्कूलमा कक्षा ८ मा अध्ययनरत रहँदा फुटबल र हकी टोलीका प्रथम नेपाली कप्तान भएका थिए। यो भन्दा अघिसम्म फुटबल र हकी टिमका कप्तान सधैँ भारतीयहरू मात्रै छानिन्थे।

एक प्रहरीलाई अन द स्पट बढुवा गरी दर्ज्यानी चिह्न लगाइदिँदै बराल।

बरालले विज्ञान विषयमा प्रमाण पत्र तह परीक्षा उत्तीर्ण गरेपछि आगरा विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरे। खड्गजीत अलीगढ मुस्लिम विश्वविद्यालयको फुटबल टोलीको प्रथम गैरमुस्लिम कप्तान भएर सो टोलीको नेतृत्व गर्दै अफगानिस्तानस्थित फुटबल प्रतियोगिताहरूमा भाग लिएका थिए। उनी सेमेस्टरको मध्यमै अलीगढ विश्वविद्यालय छोडेर पटना विश्वविद्यालयमा राजनीति शास्त्र विषय लिएर स्नातोकोत्तरमा भर्ना भएर त्यहाँबाटै स्नातोकोत्तर तह उत्तीर्ण गरेका थिए।

बराल प्रहरी सेवामा प्रवेश गरेको तीन वर्षमै प्रहरी नायव उपरीक्षक पदमा पढुवा भएका थिए। प्रहरी नायव उपरीक्षकमा बढुवा भएपछी उनको प्रथम दरबन्दी लुम्बिनी अञ्चलको रुपन्देही जिल्ला (भैरहवा) रहेको थियो। भैरहवामा कार्यरत रहँदा १ पुस, २०१७ मा तत्कालीन राजा महेन्द्रले राज्य सत्ता आफ्नो हातमा लिएपछि गृह मन्त्रालयको निर्देशानुसार तत्कालीन प्रहरी उपरीक्षकलाई पक्राउ गर्ने आदेश आएको थियो। पछि बराल धनुषाको जलेश्वरस्थित प्रहरी नायव उपरीक्षक कार्यालयको प्रमुख रहँदा उनले तत्कालीन काङ्ग्रेसी नेता तथा आफ्ना परम मित्र महेन्द्र नारायण निधिलाई दुई पटक गिरफ्तार गरेका थिए।

आफ्नी श्रीमतीका साथ खाकी बर्दीमा तत्कालीन आइजी बराल।

प्रहरी महानिरीक्षक (वि.सं. २०२९ साउन – २०३५ जेठ)

बराल लोक सेवा आयोगबाट नेपालको तत्कालीन सरकारमा प्रहरी महानिरीक्षकका लागि सिफारिस हुने प्रथम स्नातकोत्तर उतीर्ण प्रहरी अधिकृत हुन्। वर्षको कनिष्ठ उमेरमा प्रहरी महानिरीक्षक हुने उनी प्रथम व्यक्ति हुन्। उनी भन्दा अघिका सबै प्रहरी प्रमुख मुक्ति सेनाबाट प्रहरीमा समायोजन भएर वा सेनाबाट सरूवा भई प्रहरीमा प्रवेश गरेका थिए भने उनी चाहिँप्रहरी ऐन २०१२ बनेपछि विधिवत रूपमा प्रहरीमा भर्ना भई प्रहरी महानिरीक्षकमा नियुक्त हुने प्रथम व्यक्ति हुन्। आफ्ना पूर्ववर्ती स्वर्गीय आईजीपी रोम बहादुर थापाका साथै बराल ६ वर्षका लागि प्रहरी प्रमुख भई सबैभन्दा बढी समयको लागि प्रहरी प्रमुखको जिम्मेवारी वहन गरेका थिए।

तत्कालीन दरबार र शाही नेपाली सेनाका केही उच्च पदस्थ अधिकारीहरूले प्रहरीको यस कदमलाई सकारात्मक रूपमा लिएनन्। दरबार र तत्कालीन श्री ५ को सरकारसँग अनवरत सङ्घर्षरत रहेर २०३० सालको भाद्रमा बरालले प्रहरीमा रासनको व्यवस्था गर्न सफल भएका थिए। एउटा प्रहरी कर्मचारी वा अधिकृतले आफू सहित आफ्नो परिवारका तीन सदस्यलाई ख्वाउन मिल्ने गरीकन रासनको व्यवस्था गरिएको थियो।

नक्सालस्थित कार्यालयमा बराल।

बरालको कार्यकाल अघिसम्म नेपाल प्रहरीमा किल्लाको व्यवस्था थिएन। प्रहरी महानिरीक्षक बरालकै अग्रसरतामा जनता प्रहरी मैत्री बनून् र प्रहरी भवनहरूलाई न्यायको मन्दिरका रूपमा हरेर प्रहरीको पनि जनताको सेवा गर्ने (जनमैत्री) मनोबल बडोस् भनी वि.सं. २०३१ मा इन्जिनियरिङ शाखा स्थापना गरी पगोडा शैलीका प्रहरी भवनहरूको निर्माण थालनी गरिएको थियो। अपर्याप्त बजेट रहेको तत्कालीन अवस्थामा जनताको चन्दाको भरमा अधिकांश थाना, चौकी र ब्यारेक लगायतका प्रहरी भवनहरू निर्माण गरिएका थिए। तसर्थ जनताको नासोको प्रतीकका रूपमा अधिकांश प्रहरी भवनहरू खडा भएका थिए। पुर्वमा मेची देखि पश्चिममा महाकालीसम्म प्रहरी थाना र चौकी निर्माण गरी बराल आफैले उद्घाटन गरेका थिए।

प्रहरीले आफ्नै तलबबाट वा ऋण लिएर पोशाक किन्न, वा अरूबाट अधारोमा पोशाक लगाउन नपरून् भनेर आइजीपी बरालले २०३३ सालमा पोशाकको व्यवस्था गरेका थिए।तसर्थ प्रहरीको मनोबल बढाउनका निम्ति तत्कालीन प्रहरी महानिरीक्षक खड्गजीत बरालले नेपाल प्रहरी सङ्गठनमामा रासन, बास र पोशाकको व्यवस्था गरेका थिए।

वि.सं. २०३२/३४ मा प्रहरी प्रमुखको हैसियतले भारत भ्रमण गर्दा तत्कालीन भारतीय सरकारबाट नेपाल प्रहरीको लागि ५०-शैय्याको अस्पताल बनाइदिन तत्कालीन प्रहरी महानिरिक्षक बरालकै पहलमा स्वीकृति पाइएको थियो, र पछि नेपाल प्रहरी अस्पतालको भवन निर्माणका लागि महाराजगञ्ज स्थित प्रचण्ड भवनको जग्गा समेत खरिद गरिएको थियो।

नेपालीहरू विदेशी पर्वतारोहीहरूको भरियामा मात्र सीमित नभई आफैँ पनि आरोहणमा संलग्न भै सफल होउन् भनी तत्कालीन महानिरीक्षक बरालकै अग्रसरतामा वि.सं. २०३० सालतिर नेपाल प्रहरी पर्वतारोही प्रतिष्ठान स्थापना गरिएको थियो। सो प्रतिष्ठानकै लागि दार्जिलिङ स्थित भारतीय पर्वतारोहण संस्थानमा स्वर्गीय तेन्जिङ्ग नोर्गेबाट १५ प्रहरी जवानहरूलाई ६ महिनाको लागि प्रशिक्षण दिइएको थियो।

सो प्रतिष्ठानबाट ‘तिब्बती खाम्पा निशस्त्रीकरण अभियान अघि बढाउन पनि सहयोग पुगेको थियो। वि.सं. २०३१-२०३३ मा नेपाल प्रहरी र नेपाली सेनाको संयोजकत्वमा तिब्बती खाम्पा निशस्त्रीकरण अभियानबाट नेपाली भूमिलाई दलाइ लामाका सशस्त्र खम्पाबाट मुक्त गरी नेपालको सार्वभौमिकता पुनर्स्थापना गर्न सफल भएको थियो। अपराध अनुसन्धानको वैज्ञानिकीरणका लागि तत्कालीन महानिरीक्षक बरालको अग्रसरतामा प्रमाण ऐन ,२०३१ तयार गरिएको थियो।

तत्कालीन राजा वीरेन्द्रसँग बराल।

बरालले तत्कालीन पश्चिम जर्मनी सरकारलाई ला’गूऔ’षध नियन्त्रण ऐनको विधेयकको मस्यौदा तयार पार्न नेपालमा कानुन विशेषज्ञ पठाउन अनुरोध गरेका थिए। तद्अनुरूप बरालकै अग्रसरतामा ला’गूऔ’षध नियन्त्रण ऐन, २०३३ तयार गरिएको थियो।

वि.सं. २०३१ सालमा काठमाडौँ उपत्यकामा अपराध नियन्त्रण प्रभावकारी बनाउन र जनतामा समयोचित सेवा पुर्याउन सकियोस् भनेर चीनबाट चारवटा अत्याधुनिक भ्यान नेपाल भित्र्याई प्रहरी निरीक्षकको नेतृत्वमा हा’तह’तियारले सुसज्जित प्रहरी अधिकृतसहित नगर प्रहरी कार्यालयमा तत्कालीन प्रहरी महानिरीक्षक खड्गजित बरालद्वारा नेपाल पुलिस फ्लाइङ्ग स्क्वाड् स्थापना भएको थियो। सो टोलीहरूले तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा छिटो र छरितो ढङ्गबाट अ’पराध रोकथाम गर्दै आएको थियो ।

नेपाल प्रहरीको क्रमिक इतिहास प्रदर्शन गर्नका निम्ति प्रहरीद्वारा प्रयोग हुने पुराना तथा तत्कालीन हा’तह’ति’यार तथा पोशाक सङ्कलन गरी वि.सं. २०३२ सालमा प्रहरी प्रधान कार्यालयको परीसरमा तत्कालीन प्रहरी महानिरीक्षक बरालद्वारा नेपाल प्रहरी सङ्ग्राहलयको प्रारूप तयार भएको थियो। तत्कालीन सदर प्रहरी तालीम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज) मा मात्र सिमित प्रहरी तालिमलाई अरू विकास क्षेत्रहरूमा पनि सञ्चालन गर्ने उद्देश्यले तत्कालीन प्रहरी महानिरीक्षक खड्गजीत बरालले वि.सं. २०३३ (चैत्र २५) मा ५० गुरूवा (प्रशिक्षक) र ५० जवान तालिमेहरू सहित पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवलको स्थापना गरेका थिए ।

पूर्व प्रहरीको सल्लाह सुझाव लिन र भेटगाट गराउनका निम्ति तत्कालीन प्रहरी महानिरीक्षक खड्गजित बरालकै पहलमा प्रहरी पुनर्मिलन कार्यक्रमको थालनी भएको थियो जसले पछि पूर्व प्रहरी सङ्गठन’ को स्थापनाका निम्ति समेत भूमिका खेलेको थियो। वि.सं. २०३० मा तत्कालीन रानी ऐश्वर्याको जनमोत्सवको अवसरमा तत्कालीन बरालले बिटिङ द रिट्रिट् अभ्यासको थालनी गरेका थिए। सो अभ्यासमा जिम्नास्टिक, जुडो र अरू विभिन्न प्रदर्शनी हुने गरेको थियो।

सीमा प्रहरी चौकीको स्थापना

बरालले सिमा सुरक्षाका लागि ‘सिमा सुरक्षा प्रहरी’ गठन गरी नेपाल-भारत सिमा भरी सिमा प्रहरी चौकी स्थापना गरेका थिए। उनको दूरदर्शीता अनुरूप २०२९ सालमा प्रहरी प्रमुखमा नियुक्त भएपछि ‘१६ वर्षीय सीमा सुरक्षा प्रहरी चौकी’ को योजना बनाइएको थियो। यस योजना अन्तर्गत उनले २०३५ सालको प्रारम्भमा प्रहरीबाट अवकाश पाउनु अघिसम्म नेपाल-चीन सीमामा ताप्लेजुङस्थित ओलाङचुङगोला, संखुवासभाको किमाथाङ्का, सोलुखुम्बुको थ्याङ्गबोचे, गोरखास्थित छेकम्पार, मनाङस्थित हुम्दे, मुस्ताङको लोमान्थाङ, हुम्लाका मुचू र यारी, डोल्पाको तिन्जे र मुगुमा सीमा प्रहरी चौकीहरू स्थापना भएका थिए।

त्यस्तै, नेपाल-भारत सीमामा दार्चुलाको दत्तु, डोटीको साँगडी, महोत्तरीको कट्टीकटैया, सर्लाहीको संग्रामपुर, कपिलवस्तुको कृष्णनगर, झापाको काँकडभिट्टा, इलामका पशुपतिनगर र मानेभञ्ज्याङ (दार्जिलिङ नजिक), भैरहवाको बेलहिया र दुवै नेपाल-भारत र नेपाल-चीन सीमा हेर्ने दार्चुलाको तिङकर सहित २० ठाउँमा सीमा प्रहरी चौकीहरू स्थापना भएका थिए।

बि. सं. २०३४ सालमा भैरहवास्थित बेलहिया नाका उद्घाटन गर्दै बराल।

वि.सं. २०३३ सालमा काङ्ग्रेसी नेताहरू विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको निति लिई नेपाल आएपछि तत्कालीन प्रहरी महानिरीक्षक खड्गजीत बरालले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सदर प्रहरी तालिम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज) लगेर राखेका थिए। तत्कालीन पञ्च नेताहरूको दबाब बाबजुद उनले बि.पि. र गणेशमान सिंहलाई विमानस्थलबाट सुन्दरीजल कारागार लगेनन्। तत्कालीन महानिरीक्षक बरालले वि.सं. २०३१ सालमा स्वर्गीय राजा वीरेन्द्रको राज्याभिषेक समारोहको सुरक्षा व्यवस्थाको जिम्मेवारी पाएका थिए।

तत्कालीन महानिरीक्षक खड्गजित बरालकै कार्यकालमा वि. स. २०३३ सालमा सहवीर थापा र वासुदेव ओलीलाई प्रहरी निरीक्षमा नियुक्त भए, जो पछि सशस्त्र प्रहरी बल नेपालका प्रमुख भएका थिए। बरालले प्रहरी प्रमुखका हैसियतले मिश्र, फ्रान्स, ब्राजिल, अर्जेन्टिना लगायत देशहरूमा इन्टर्पोल सम्मेलनमा भाग लिएका थिए। करिब २२ वर्ष नेपाल प्रहरीमा सेवा गरेर बरालले नेपाल प्रहरीलाई एउटा आधुनिक प्रहरी सङ्गठनको रूपमा विकसित गराउन जति सक्दो योगदान पुर्याए, र आफ्नो कार्यकालमा (वि.सं. २०२९ – २०३५) नेपाल प्रहरी सङ्गठनलाई एउटा राष्ट्रिय प्रतिकका रूपमा स्थापित गर्न सफल भएका थिए। उनले वि.सं. २०३५ जेठ मा प्रहरी सेवाबाट अवकाश पाएपछी तत्कालीन प्रहरी नायव महानिरीक्षक दुर्लभ कुमार थापालाई नेपालको तत्कालीन सरकारबाट प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको थियो।

खेलकुदमा योगदान

तत्कालीन प्रहरी महानिरीक्षक खड्गजीत बराल ८ वर्षसम्म नेपाल हकी सङ्घको अध्यक्ष रहेका थिए। बरालले नेपाल हकी सङ्घको अध्यक्ष हुनु अगावै पाकिस्तानबाट दुई जना हकी प्रशिक्षकहरूलाई नेपाल निम्त्याई नेपालमा हकी खेलको सुरूवात गरेका थिए। बरालले टुँडीखेल र तत्कालीन सदर प्रहरी तालिम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज) मा कयौँ हकी प्रतियोगिताहरू आयोजना गरि आफू स्वयम् पनि सहभागी भई हकीलाई नेपालमा एउटा राष्ट्रव्यापी खेलको रूपमा परिचित गराएका थिए। बराल सन् १९९० को दशकमा नेपाल जुडो सङ्घको करिब ६ वर्ष अध्यक्ष रही काम गरेका थिए।

बरालले नेपाल जुडो सङ्घको अध्यक्ष हुनु अगावै सन् १९६९ मा जापानबाट जुडो प्रशिक्षक र खेलाडीलाई एक वर्षको लागि नेपाल निम्त्याई नेपालमा जुडो खेलको सुरूवात गरेका थिए। सन् १९९५ अगस्ट १देखि ५ मा उनले नयाँ दिल्ली स्थित ‘दोस्रो राजीव गान्धी अनतरराष्ट्रिय जुडो प्रतियोगिता’ मा नेपाली जुडो टोलीका लगि नेपाल जुडो सङ्घको अध्यक्षको रूपमा प्रतिनिधित्व गरेका थिए।

उनले सन् १९८९ मा रोयल नेपाल गल्फ क्लबलाई एउटा सामाजिक संस्थाको रूपमा बाग्मती अञ्चलाधीश कार्यालयमा दर्ता गराई त्यसलाई विधिवत रूप दिन सफल भएका थिए। उनले रोयल नेपाल गल्फ कोर्सको जग्गालाई २० वर्षको लिज दिलाए, जुन पहिले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पर्दथ्यो। बरालले रोयल नेपाल गल्फ क्लबको उपाध्यक्ष (वि.सं. २०४४ – २०४५) र नेपाल ब्याडमिन्टन सङ्घको उपाध्यक्ष [५४] समेत भई नेपालमा खेलकुदको विकासका लागि जति सक्दो योगदान पुर्‍याएका थिए।

विभिन्न देशका लागि नेपाली राजदूत

बरालले प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि वि.सं २०३६ मा नेपालको तत्कालीन सरकारले उनलाई बर्मा, इन्डोनेसिया, लाओस, कोम्बोडिया, भियतनामका लागि नेपाली राजदूतमा नियुक्त भएका थियो। वि.सं. २०३७ मा तत्कालीन नेपाली राजदूत खड्गजीत बरालले बर्मामा तत्कालीन राजा वीरेन्द्रको राष्ट्र प्रमुखको हैसियतले प्रथम औपचारिक भ्रमणको व्यवस्था गरेका थिए।

तत्कालीन राजदूत बरालको पहलमा बर्मामा महाविजया जेदी पगोडाको निर्माण कार्यमा बर्मेली र नेपाली शिल्पकार दुबैलाई संलग्न गराई नेपाल र बर्मा बिचको सम्बन्ध प्रगाढ बनाइएको थियो। नेपालद्वारा बर्मालाई उपहारको रूपमा दिइएको गौतम बुद्धको मूर्ति स्ह्वेडागन् पगोडा मै राखिएको थियो। राजदूत बरालको कार्यकालमा निर्मित महाविजया जेदी पगोडाले स्ह्वेडागन् पगोडा पछि बर्माको सबैभन्दा चर्चित पगोडाको स्थान ओगटेको छ, जसबाट बर्माका नेपाली र बर्मिज नागरिकहरू बीच प्रगाढ सम्बन्ध स्थापना हुनमा सहयोग पुगेको छ।

वि.सं. २०३६ मा ओहोदाको प्रमाण पत्र पेश गर्ने क्रममा राजदूत बराल (दायाँ) बर्माका राष्ट्रपति जनरेल ने.विन. का साथ ।

बर्मामा वर्षौँदेखि अधिकारविहीन शरणार्थीसरह बसिरहेका ४०,००० नेपालीहरूलाई बर्मेली नागरिकता प्रदान गर्न तत्कालीन नेपाली राजदूत बरालले तत्कालीन बर्मिज सरकारलाई आह्वान गरेका थिए र फलस्वरूप नागरिकता दिलाउन सफल भएका थिए। तत्कालीन राजदूत बराल बर्माका तत्कालीन प्रमुख पुरोहित महाशीको लुम्बिनी भ्रमण गराउन सफल भए जसबाट बर्मा र नेपाल बिच धेरै संस्कृति र रीतिरिवाज आदानप्रदान भएको थियो।

वि.सं. २०४२ मा खड्गजीत बरालले राजदूतबाट अवकाश प्राप्त गरेपछि नेपालको तत्कालीन सरकारबाट स्वर्गीय डा. दिव्य देव भट्टलाई बर्मा र फ्रेन्च इन्डो-चाइना (लाओस, कोम्बोडिया र भियतनाम)का लागि नेपाली राजदूतमा नियुक्त गरियो भने रामचन्द्र बहादुर सिंहलाई इन्डोनेसियाका लागि नेपाली राजदूतमा नियुक्त गरिएको थियो। बर्माका लागि नेपाली राजदूतबाट निवृत्त भएपछि बराल राष्ट्रिय पञ्चायतका सदस्यमा मनोनित भएका थिए। नेपालको तत्कालीन सिंहदरवारस्थित संसदभवन (ग्यालरी बैठक) को बैठकमा तत्कालीन सांसद बरालले दक्षिण अफ्रिकाका स्वतन्त्र सेनानी नेल्सन मन्डेलाको रिहाईको माग गरेका थिए जसबाट अरू माननीयज्यूहरू अवाक् मा परे र पछि दरबारका सचिवहरूबाट नकारात्मक टिकाटिप्पणी आएको थियो।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्