जङ्गबहादुरका ती रोचक दिनहरू !



(इतिहास) – एक हप्तापछि स्टिमर माल्टानजिक किनारामै पुग्यो । त्यहाँ पनि जंगबहादुरको सम्मानार्थ उन्नाइस तोपको सलामी दियो । माल्टामा नेपाली प्रतिनिधिहरू स्टिमरबाट ओर्लेनन्, खालि समुद्री किनाराको अवलोकन मात्र गरे । ६ दिनपछि सो ‘रिपन’ नामक स्टिमर ‘जिब्राल्टर’को छेडोभित्र पस्यो । जिब्राल्टरको छेडो काटेपछि स्टिमर पनि छिटो-छिटो बग्न लाग्यो । सन् १८५० मे २५ ता. का दिन इङ्ल्यान्डको किनारा ‘साउथ एम्प्सटन’ South Ampston मा स्टिमर पुगी लङ्गुर गिरायो ।

जंगबहादुरको सम्मानको निमित्त खटिएका अफिसरहरू स्टिमरभित्र पसी उनको स्वागत सत्कार गरे । जंग सोही स्टिमरमै बसिरहे । सुरुमा त्यहाँका भन्सारका कर्मचारीहरूले नेपाली प्रतिनिधिहरूको मालसामान केही नखोल्ने आदेश पाएका रहेछन, तर पछि पुनः मालसामानहरू सबै खोल्नै पर्ने र लागेको भन्सार महसुल तिर्नै पर्ने आदेश पाएकाले भन्सारका कर्मचारीहरूले मालसामान नजाँची छोडेनन् । जंगले तुरुन्त स्टिमरबाट सम्पूर्ण मालसामानहरू उतार्न लगाई सो सामान कुर्न ६ जवानहरूलाई नाङ्गो खुकुरी लिएर बस्न लगाए ।

जंगले आफ्नो इज्जतको ख्याल राखी कप्तान क्याभिनेजसँग सामान नजाँची इङगल्यान्डभित्र पस्न नपाउने हो भने म इङ्गलैन्ड पास्दिन, यतैबाट फ्रान्सतर्फ जान्छु तसर्थ तपाईं भन्सारका कर्मचारीहरूसँग कुरा जानुहोस् र मलाई यकिन जवाफ दिनहोस् भनी पठाए । क्याभिनेजले भन्सारका कर्मचारीहरूलाई सोही कुराको बोध गराएबाट बल्ल नेपाली प्रतिनिधिहरूका सामानहरू खोल्दै नखोल्नु भन्ने आदेश पाएर नेपाली प्रतिनिधिहरूको सामान नखोलिने भयो । जंगले पनि सन्तोष माने । भोलिपल्ट लन्डनमा बस्ने घरको के कस्तो बन्दोबस्त गरेका छन्, सोको निरीक्षणार्थ कप्तान क्याभिनेज र लेफ्टीनेन्ट लालसिंह सिजापतिहरूलाई जंगले लन्डनतर्फ पठाए । तिनीहरू फर्केर आई टेम्स नदीको किनारामै ‘रिकमन्ड टेरेस’ नामक भव्य महलको बन्दोबस्त भएको सूचना पाएपछि जंगले पुनः सन्तोष माने । नेपाली प्रतिनिधिमण्डल रेलद्वारा लन्डनतर्फ प्रस्थान गरे । लन्डन पुगी सोझै ‘रिकमन्ड टेरेस’ महलभित्र पसी केहीबेर आराम गरे ।

सो समयमा महारानी भिक्टोरिया सुत्केरी भएकी थिइन् । प्रिन्स अर्थर ‘ड्यूक–अफ–केन्ट’ को जन्म भएको जम्मा तीन हप्तामात्र भएको हुँदा जंगवहादुरले जून १९ ता. का दिन दिउँसो तीनबजे ’सेन्ट जेम्स प्यालेस’ मा अनौपचारिक भेटवार्ता गर्ने समयको निर्धारण भएकाले सो फुर्सदको समयमा नेपाली प्रतिनिधिहरूले ठाउँठाउँको अवलोकन गर्ने मौका पाए ।

महारानी भिक्टोरिया मे. २७ ता. १८५० ई. को वेलुकीपख लन्डनस्थित तत्कालीन इस्टइन्डिया– कम्पनी सरकारको कार्यालयका अध्यक्ष र उपाध्यक्षहरू रिकमन्ड टेरेसमै आई जंगबहादुरलाई भारतसम्बन्धी ‘इन्डिया अफिस’ को निरीक्षणार्थ निमन्त्रण गरे । उनीहरूले भने- ‘तपाईको स्वागतार्थ लन्डन टेभरनमा भोजको आयोजना गर्ने भएका छौं, तपाईलाई कुन दिन अनुकूल पर्छ ? भनी प्रश्न गरे । अति खुशी हुँदै जंगले भोजको निमित्त मे ३० ता. को दिन निर्धारण गरी भने- ‘भोजमा हामी सामेल त हुन्छौं, तर छुट्टै बसी फलफूलमात्र खान्छौं ।’

भोजको मिति तय भएको दिन साँझ जंगबहादुर जगतशमशेर, धीरशमशेर, सिद्धिमान राजभण्डारी सेन्टजेम्स नाचघरमा नाच हेर्न गए र आधा रात बितेपछि फर्किए । मे २८. ता. का दिन लन्डन सोसाइटीको फ्लावरका तर्फबाट प्रतिनिधिहरूलाई निमन्त्रणा आएको हुँदा सो निमन्त्रणामा सरिक हुन नेपाल पुगे । मे २९ ता. का दिन नेपालीहरू घोडदौड हेर्न गए । निमन्त्रणा गरेबमोजिम मे ३० ता. का दिन नेपाली प्रतिनिधिहरू इन्डिया अफिस पुगे । त्यहाँका अध्यक्षले जंगको स्वागत गर्दै बोर्ड-अफ-डाइरेक्टरहरूको समेत परिचय गराए । त्यसपछि जंगबहादुरलाई सम्बोधन गरी अध्यक्षको अभिवादन भाषण गरे । जंगलाई इन्डिया अफिसको सम्पूर्ण कक्षहरूको अवलोकन पनि गराए । त्यहाँको सम्पूर्ण कार्यक्रम सकी नेपाली प्रतिनिधिहरू रिकमन्ड टेरेसमा फर्के ।

मे ३१ ता का दिन जंग चिसोको कारण बिरामी भए, तसर्थ जगतशमशेर र धीरशमशेरहरूलाई लिई कप्तान क्याभिनेज गिर्जाघरमा गए । त्यहाँबाट उनले आफ्नो परिचित ठाउँमा लगे, जहाँ लेडी केम्बर मेरी र दुईजना ब्रिटिश जनरलहरूसँग जगतशमशेर र धीरशमशेरको परिचय भयो । लेडी केम्बरमेरीले जंगबहादसंग भेट गर्ने इच्छा प्रकट गरिन् । साथै त्यहाँ उपस्थित दवै ब्रिटिश जनरलहरूले यी दुवै शमशेर राणाजीहरूलाई डिनरको निमित्त जोड गरे । यी दुवै राणाजीहरूले तपाई सम्मानित आइमाईले प्रेमपूर्वक बनाउनु भएको परिकार हेरी हामी तृप्त भैसक्यौ तर केम्बरमेरीले हिन्दू धर्मावलम्बीहरूको रीतिरिवाज केही नबुझेको हुँदा आश्चर्य मानी टोलाएर हेर्न थालिन् । यथार्थ कुरा थाहा पाएका कप्तान क्याभिनेजले ‘म्लेच्छ’ ले छोएको खाना हिन्दूले खान नहुने विषयको कुरा लेडीलाई बताइदिएपछि उनको आश्चर्य हट्यो । केहीबेरको गान-बजानपछि यी दुवै भाइहरूका साथ कप्तान क्याभिनेज त्यहाँबाट फर्के ।

जून १ ता. १८५० ई. का दिन बिहान सबेरै जंग ठाउँ-ठाउँका तबेलाहरूमा पुगी घोडाहरू हेर्न थाले । उनले एउटा तबेलाबाट ४ बटा फुर्तिला छिटो छरितो बग्गी तान्ने घोडाहरू खरिद गरे, साथै बग्गीसमेत किन्न खोजे । तर भनेजस्तो बग्गी नभएकाले उनले भाइ धीरशमशेरलाई बग्गी बनाउने कारखानामै पठाए । कारखानाबाट धीरशमशेरले भने जस्तो बग्गी खरिद गरी ल्याए । सोही दिन साँझ लेडी पल्मसटनले जंगलाई निमन्त्रणा गरेकीले जंग उनीकहाँ गए । त्यहाँ ड्यूक-अफ्-वेलिङ्गटन र बेलायतका लागि अमेरिकी राजदत लरेन्ससँग उनको परिचय भयो । ड्यूकले जंगबहादुरसँग परिचय भएकोमा ज्यादै खुशी प्रकट गर्दै भने- ‘भारतमा पनि मेरा साथीहरू छन् तापनि तपाई एक योग्य नेपाली व्यक्तिसँग चिनजान भएकोमा म अति खुशी भएको छु ।’

जून २ ता. का दिन लर्ड गुज रिकमन्ड टेरेसमा आई जंगबहादुरलाई भेटवार्ता गरे । गुजले जंगसँग नेपालमा उनको प्रशासनसम्बन्धी कुरा गरे । जंगले छोटकरीमा- ‘नेपाल एक सानो स्वतन्त्र राष्ट्र हो जो हमेसै कम्पनी सरकारको समर्थक छ’ भने । पुनः लर्ड गुजले ‘जंगबहादुरको अर्थ के हो ? भनी प्रश्न गरे । जंगले ‘युद्धको समयमा वीरता देखाउनेलाई जंगबहादुर भन्दछन्’ भनी जवाफ दिए ।

जन ३ ता. का दिन जंगबहादुर पिक्याडेलीमा घोडा खरिद गर्नको निमित्त गए । त्यहाँको एउटा घोडा जंगलाई ज्यादै मन परेको हुँदा उनले त्यस घोडाको मूल्य सोधे । घोडा धनीले घोडाको मूल्य एक सय गिन्नी बतायो । घोडा उफ्रेर कति नाघ्न सक्दछ जाँच्न जंगबहादुरले तगारो बाहिर घोडालाई ल्याउन आदेश दिए । घोडा धनीले त्यस घोडालाई कुनै तालिम नदिएको हुँदा त्यसरी नाघ्न सक्दैन भन्यो । जंगले तैपनि त्यो घोडालाई तगारो बाहिर निकाल्न लगाई नाग्न सक्छ कि सक्दैन हेर्न भाइ धीरशमशेरलाई ना’ङ्गो तरवार जमिनदेखि करिब ३ फिट मात्र अग्लो पारेर समाउन लगाए । यदि तरवारले घोडाको खट्टामा चोट लाग्यो अथवा कुनै नोक्सानी भयो भने घोडाको मूल्य ३ सय गिन्नी घोडा धनीले पाउनेछ भनी जंगले सुनाए ।

त्यसपछि जंगबहादुर आफै सो घोडामा चढी सहजै तरबार नघाई घोडा फर्काए । घोडा धनी छक्क पऱ्यो र आफ्नो घोडाको बढी गुण देखेर अब घोडाको मूल्य ४ सय गिन्नी भन्न थाल्यो । जंगलाई त्यस घोडा धनीदेखि रिस उठ्यो । उनले आफ्नो सेक्रेटरी म्याक्लियडलाई फर्केर भने- ‘घोडा धनीले अब घोडा २ सय गिन्नीमा बेच्छ भने मात्र म किन्छु । म पचास कदम हिडुन्जेलसम्ममा पनि २ सय गिन्नीमा दिन मञ्जुर गरेन भने घोडाको मोल एक सय पचास गिन्नीभन्दा बढी पाउने छैन । म बग्गीमा पुगेन्जेलसम्म पनि उसले घोडा बेच्न मञ्जुर गरेन भने म घोडाको मूल्य जम्मा एक सय गिन्नीदेखि बढी दिनेछैन भन्ने कुरा घोडा धनीलाई सुनाइदिनुहोस् ।’

जंगले भनेका कुरा म्याक्लियडले घोडा धनीलाई यथार्थ बताइदिए । त्यसपछि जंगबहादुर सुरुसुरु आफ्नो बग्गीतर्फ लागे । घोडाधनी पनि आफ्नो घोडाको तारिफ गर्दै जंगको पछि-पछि लाग्यो, तर जंगलाई खुशी तुल्याउन सकेन । बग्गीमा बसेर जंगले बग्गी चलाउनू भने । अब त्यस घोडाधनीले घोडाको मूल्य एक सय गिन्नीमै मात्र भए पनि बेच्न मञ्जुर गऱ्यो । आफ्नो इच्छा पुगेकाले जंगले सो घोडा किने । त्यस घोडा धनीको चित्त साह्रै दुखेझै लागेकोले पचास गिन्नी अरू थप गरी जम्मा एक सय पचास गिन्नीमा जंगले सो घोडा खरिद गरे ।

भोलिपल्ट जून ४ ता. का दिन नेपाली प्रतिनिधिमण्डल ‘यन्जिलसफेन्सिङ्गम्स’ तर्फ खेल-तमासा हेर्न गए । त्यहाँका अनेक प्रकारका खेलतमासाहरू नेपाली प्रतिनिधिहरूले हेरे । यसै क्रममा एक ठाउँमा मानिसहरूको भीड लागेको नेपाली प्रतिनिधिहरूले देखे । त्यहाँ कुस्ती खेल्ने अखडा रहेछ, अखडाभित्रको एक पहलमानले नेपालीहरूलाई देखी कुस्ती खेल्नको निमित्त ललकाऱ्यो । उसले दिएको हाँकले जंगबहादुरलाई झोंक चलिहाल्यो । जंग त्यस घमण्डीसँग आफै कुस्ती खेल्छु भन्न थाले । भाइ धीरशमशेरले उनलाई रोकी, ‘हजुरले कुस्ती खेलिबक्सनु हुँदैन, कुस्ती म खेल्छु कुस्ती खेल्दा हारे मै हार्नेछु’ भनेकाले अब धीरशमशेर कुस्ती खेल्ने भए । त्यस युरोपियन पहलमानले अरू धेरै पहलमानहरूलाई हराइसकेको रहेछ । पहलमान अति बलियो थियो । अखडाभित्र पस्नु अगावै जंगबहादुरले भाइ धीरशमशेरलाई भने, ‘सान्नानी ! तँलाई पहलमानले समातेमा त फुस्कन सक्दैनस् तसर्थ समात्न नदिनू, मौका हेरी मैले भनेको दाउपेच तैले तुरुन्त त्यस पहलमानलाई हानिहालेस् ।’

धीरशमशेर अखडाभित्र पसे । पहलमानको भीमकाय गोरो शरीर, त्यसको अगाडि धीरशमशेरको कालो फुच्चे शरीर दखियो । अखडामा धीरशमशेरलाई त्यस भीमकाय पहलमानले समात्नको लागि अघि बढ्न थाल्यो भने धीर विस्तारै-विस्तारै पछि हट्दै अखडामा घुम्न थाले । भयंकर होहल्ला हुन थालेकाले युरोपियन पहलमानले शरीरको प्रदर्शन गर्दै दङ्ग परी दर्शकतर्फ मुन्टो के फर्काएको थियो, सोही अवसरमा नजिक उभिइरहेका जंगबहादुरले कराएर ‘सान्नानी ! ढाक दाउ चाँडै हान्’ भन्नासाथै धीरशमशेरले त्यस पहलमानलाई तुरुन्त ‘ढाक’ दाउ हानी चित् पारे । अब होहल्ला अरू जोड-तोडका साथ भयो । दर्शकहरू पनि चकित परे । हारेपछि त्यस पहलमान ज्यादै लाज मानेको हुँदा जंगलाई दया आयो, तसर्थ एक मुठी गिन्नी बक्सिस दिए । भाइ धीरशमशेरसँग जंगबहादुर अति खुशी भए । लन्डनबाट प्रकाशित हुने समाचारपत्रहरूमा समेत उपरोक्त समाचार छापियो ।

(पद्यजङ्ग राणाकृत ‘जङ्गबहादुरको जीवनयात्रा’बाट, हामीले घटना र विचार बाट )

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्