आज काठमाडौं उपत्यकाका यी ठाउँहरुमा नगर्नुहोला यात्रा, बाटो छ अवरुद्ध (तस्विर सहित)



गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको जानकारी दिनुभयो ।

काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको उहाँले बताउनुभयो । विशेष गरी नदीको वरपरका क्षेत्र डुबानबाट प्रभावित भएको जनाइएको छ । अहिलेसम्म डुबानबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बाढीको सबैभन्दा ठूलो असर बल्खुमा देखिएको छ।

बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट, चावहिल, बालाजु नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र भारी वर्षाको कारण डुबानमा परेका हुन्। त्यस्तै भक्तपुरको राधेराधे क्षेत्र पनि डुबानमा परेको छ।

आज बिहान काठमाडौं उपत्यकामा छोटो समयमै १ सय ५ मिलिलिटरसम्म वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, विष्णुमती, मनहरा, धोवीखोला, हनुमन्ते लगायत उपत्यकाका सबैजसो खोलामा आज बिहानैदेखि ठूलो बाढी आएको छ।

भारी वर्षाका कारण काठमाडौं उपत्यकाको वागमती, विष्णुमती लगायतका ठूला नदीहरुमा भीषण बाढी आएको छ । धोवीखोलामा पनि पानीको सतह बढेर सडकसम्म आएको छ । काभ्रेको मुख्य बजार बनेपाल पूर्ण रुपमा जलमग्न बनेको छ ।

गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबान

अविरल वर्षाले वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ । मन्दिरमुनिको चौर डुबानमा परेपछि दिवङ्गत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्न आउने भक्तजन प्रभावित भएको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले  दिनुभयो । गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो ।

पानीसँगै आएको बाढीले यस क्षेत्रको सडक पनि बिगारेको छ । जोरपाटी सुन्दरीजल सडक विस्तारका क्रममा ठाउँ ठाउँमा अलपत्र रहेको भाग बाढीले प्रभावित भएको छ । अधिकांश भित्री सडक जलमग्न भएको छ । गोकर्णमुनिको वाग्मती किनार क्षेत्रसमेत ठाउँ ठाउँमा डुबानमा परेको छ । यसैगरी रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका छन् । आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्