कतार प्रहरीमा झन्डै १० नेपाली युवालाई जागिर खुल्यो, अवैध चलखेल सुरू, सरकार मौन



काठमाडौं । आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको छ ।

कतारको गृह मन्त्रालयले झन्डै १० हजारको संख्यामा नेपाली युवालाई ५ वर्षका लागि कतारमा काम दिने घोषणा गरेपछि म्यानपावर व्यवसायीले करिब ३ सय युवालाई कतार प्रहरीमा काम दिलाइदिने भन्दै मनपरी शुल्क असुलेर त्यता पठाइसकेका छन् । सरकारले विदेशमा कामदार पठाउँदा १० हजारभन्दा बढी शुल्क लिन नपाउने बताए पनि अहिले म्यानपावर कम्पनीलाई १२ लाख रुपियाँसम्म तिरेर युवाहरू कतार पुगेका छन् ।

काठमाडौंको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपालले अहिले कतार प्रहरीमा काम गर्न जान चाहनेसँग अन्तर्वार्ता लिइरहेको जानकारी प्राप्त भएको छ । सो म्यानपावर कम्पनीले एजेन्टमार्फत पैसा उठाएर गोप्यरूपमा अन्तर्वार्ता लिइरहेको र कम्पनीले प्रतिव्यक्ति १० देखि १२ लाख रुपियाँ उठाइरहेको एक पीडित युवाले नेपाल समाचारपत्रलाई बताएका छन् । तर, नेपाल सरकारले भने चर्को शुल्क असुलेर नेपाली युवालाई कतार पठाउँदा समेत वास्ता गरेको छैन ।

कतारको आन्तरिक मन्त्रालयले दोहास्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको अनुमति दिएसँगै दूतावासले लाजिम्पाटस्थित उक्त म्यानपावर कम्पनीलाई पूर्वस्वीकृति दिएको थियो । कतारको आन्तरिक मन्त्रालयद्वारा पेस गरिएको मागपत्रमा प्रहरीमा छनोट भएका नेपाली युवाले टिकट खर्च, हवाई खर्च, प्रवेशाज्ञा र म्यानपावर कम्पनीलाई सेवा शुल्क बुझाउनुनपर्ने उल्लेख छ । म्यानपावरले फ्री भिसा र फ्री टिकटमै कामदार पठाउने गरी भिसा प्रमाणीकरण भएको दूतावासले जानकारी दिएको छ ।

तर, कम्पनीले भने छनोट भएका व्यक्तिबाट चर्को शुल्क असुलिरहेको आरोप लागेको छ । म्यानपावरका सञ्चालक मनिराम श्रेष्ठमाथि अहिले २ सय नेपालीलाई कतार पठाउने भन्दै चर्को शुल्क उठाएर सबैतिर मुखमा बुझो लगाउने काम गरेको आरोप लागेको छ । यस विषयमा बुझ्न नेपाल समाचारपत्रले म्यानपावर सञ्चालक श्रेष्ठसँग सम्पर्क गर्दा उहाँले यस विषयमा कुनै पनि पत्रकारसँग कुरा नगर्ने भन्दै फोन का’टिदिनुभएको थियो ।

‘फ्री टिकट, फ्री भिसा’ भनिएको उक्त कामका लागि सो म्यानपावर कम्पनीले २० करोडभन्दा बढी रकम एजेन्टमार्फत संकलन गरेको आरोप लागेको छ । उक्त कम्पनीमाथि अहिले नेपालबाट कतार प्रहरी र सुरक्षा गार्डका लागि जाने १० हजार नेपाली युवाबाट ७ अर्ब रुपियाँ संकलन गर्ने लक्ष्य राखेर नेताहरूलाई चुनावी खर्च मिलाउने भन्दै प्रहरी प्रशासनलाई मिलाइदिन आग्रह गरिरहेको आरोप पनि लागेको छ ।

यसैबीच केही म्यानपावर व्यवसायीले प्रधानमन्त्री पत्नी आरजु राणाले चलखेल गर्ने गिरोहलाई आफ्नो हातमा लिएर म्यानपावर व्यवसायीसँग बार्गेनिङ गर्न लगाएको आरोपसमेत लगाएका छन् ।

नेपालले सन् २००५ मा कतारसँग श्रम सम्झौता गरेको थियो । त्यसपछि सन् २०१८ मा तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कतार भ्रमण गरी कतार प्रहरीसँग नेपाली युवालाई कतार प्रहरीमा पठाउने सम्झौता गर्नुभएको थियो । सोही सम्झौताबमोजिम नै अहिले नेपाली युवालाई कतार प्रहरीमा पठाउन लागिएको हो ।

प्रहरी महानिरीक्षक खनालले कतार प्रहरी मुख्यालयमा गर्नुभएको सम्झौतापछि नेपाली युवालाई कतार लैजाने विषयमा अध्ययन गर्न कतार प्रहरीको टोलीले नेपाल भ्रमणसमेत गरेको थियो । तर, सरकारले समयमै निर्णय गर्न नसक्दा म्यानपावर व्यवसायीहरू हावी हुँदा कतार पठाउने प्रक्रिया नै रोकिन पुगेको थियो । नेपाली युवालाई आकर्षक तलब दिएर कतार लैजाने कतार सरकारको घोषणापछि नेपालका राजनीतिक दलका पहुँचवाला नेता, मन्त्री, सरकारी कर्मचारीले आफ्नो गतिविधि अस्वाभाविकरूपमा अगाडि बढाएका थिए । नेपाल समाचार पत्रमा यो खबर छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्