कुलमानले गरे अर्को चमत्कार , भारत र चिनमा समेत तरङ्ग



काठमाडौ। राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपालको विद्युत् मागभन्दा उत्पादन बढी भएपछि सरकारले अन्य मुलुकमा विद्युत् विक्रीका लागि प्रक्रिया अघि बढाएको छ । यो महिनादेखि नेपालमा विद्युत उत्पादन बढेसँगै उत्पादन क्षमता १९५३ मेगावाट पुगेको छ । विद्युतको माग भने बढीमा १५ सय मेगावाट मात्र रहेकाले बाँकी रहेका ४५३ मेगावाट विद्युत् बङ्गलादेश र भारतलाई विक्रीको प्रक्रिया अघि बढाएको हो ।माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट उत्पादन र सोलारबाट १५ मेगावाट उत्पादन थप भएपछि हाल राष्ट्रिय प्रशारण लाइन १९५३ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्क छ ।

मङ्गलबार सम्पन्न नेपाल–बङ्गलादेशबीचको ऊर्जा क्षेत्रमा आपसी सहयोगसम्बन्धी सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटिको बैठक नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की तथाबङ्गलादेशको विद्युत् उर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हविबुर रहमानको सहअध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा भारतीय एवं नेपाली पूर्वाधारको प्रयोग गर्ने विषयमा छलफल सकारात्मक भएकाले २०७८ चैत भित्र बङ्गलादेशमा विद्युत पु¥याउने लक्ष मन्त्रालयले राखेको उर्जा, जलस्रोत तथा सिचाँई मन्त्रालय प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो । बङ्गलादेशले तत्काल २०० मेगावाट विद्युत खरिद गर्ने भने पनि सन् २०४१ सम्ममा ९०० मेगावाट विद्युत खरिद गर्ने लक्ष राखेको प्रवक्ता भेटुवालले जानकारी दिनुभयो ।

हामीले चैतसम्ममा २०० मेगावाट विद्युत वंगलादेश पु¥याउने प्रक्रिया अघि बढाएका छौ । बैंठकको निर्णयसँगै पहिलो चरणमा नेपाल बङ्गलादेशबीच प्रसारण लाइन निर्माण गर्ने सम्बन्धमा नेपाल, बङ्गलादेश र भारतबीच त्रिपक्षीय बैठकमार्फत सहमति जुटाई डेडिकेटेड अन्तरदेशीय प्रशारण लाइन विस्तारको काम अगाडि बढाइने मन्त्रालयको तयारी छ । नेपाल–भारत दुवै पक्षले समीकरण जरुरी ठानेसँगै भारतले क्रस बोर्डर गाइडलाइन बनाउन शुरु गरिसकेको मन्त्रालयले जनाएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालकाे खाडीको प्रयास बिमिस्टेक, एक अर्कालाई सहयोग गर्ने गरी निर्माण भएको सार्कको अवधारणा समेतमा सहमति भएकाले विद्युत विस्तार लाइनमा भारतले सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ ।

सन् २०१५ देखि नेपाल–भारत बैठक बस्दैआएको र विभिन्न चरणमा नेपालको स्रोत अन्य देशलाई विक्री गर्ने विषयमा भारतसँग छलफल भएर समझदारी भइसकेको समेत प्रवक्ता भेटुवालले जानकारी दिनुभयो । नेपाल–बङ्गलादेशबीच उर्जा क्षेत्रमा आपसी सहयोग गर्नेबारे २०७५ साउन २५ गते साझेदारीपत्रमा हस्ताक्षर भएको थियो । मङ्गलबार सम्पन्न बैठकले नेपाल र बङ्गलादेशबीच विद्युत व्यापार, नेपालको जलविद्युत विकासमा बङ्गलादेशको सरकारी तथा निजी लगानी, नेपाल र बङ्गलादेशबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन, माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट बंगलादेशले आयात गर्ने ५०० मेगावाट विद्युतको खरिदका लागि भएको प्रगतिबारे छलफल भएको मन्त्रालयका प्रवक्ता भेटुवालले जानकारी दिनुभयो ।

बैठकले भदौ २८ गते सहसचिवस्तरीय जोइन्ट वर्किङ ग्रुपको बैठक सचिवस्तरीय बैठककालागि सिफारिस गरेका विषयहरु अनुमोदन समेत गरेको थियो । नेपाल र बङ्गलादेशबीच विद्युत व्यापारको आवश्यक तयारीका लागि नेपालको तर्फबाट नेपाल विद्युत प्राधिकरण र बंगलादेशको तर्फबाट बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डलाई आवश्यक प्रक्रिया अघि बढाउने जिम्मेवारी बैठकले दिएको छ । जलविद्युत क्षेत्रमा सहकार्यको लागि नेपालबाट प्रस्तावित सम्भावित पाँचवटा जलविद्युत आयोजनाहरुमध्ये पहिलो चरणमा सुनकोशी–३ जलासय आयोजना ६८३ मेगा त्यसपछि खिम्ती सिवालय ६०० मेगा जलविद्युत आयोजना अगाडि बढाउने सहमति भएको छ ।

भारत र बङ्गलादेशमा नेपालको अवस्थाभन्दा ठीक विपरीत विद्युतको माग हुनेगरेकाले विद्युत आदानप्रदानमा सहज हुने भएको छ । नेपालमा वर्षायाममा विद्युत उत्पादन बढी हुने र भारत र बङ्गलादेशमा माग बढी हुने गर्छ । हिउँदमा भारत र बङ्गलादेशमा माग कम हुने र नेपालमा उत्पादन कम हुनेगर्छ । भारतमा कोइलाको अभावमा थर्मल प्लान्टबाट विद्युत्को आपूर्ति कम हुन थालेपछि विहार सरकारले नेपालबाट अफ आवरमा ३५५ मेगावाट विद्युत् पैंचो लिन थालेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार दैनिक औसतमा २ हजार मेगावाट आवर विद्युत् भारतले पैंचोका रूपमा लिन थालेको हो।

भारतले नेपाललाई विद्युत् विक्री गर्दा नेपाली ९ रुपैयाँ ६० पैसाको दरले विक्री गर्छ। यस हिसाबका आधारमा २० लाख युनिटको ९ रुपैयाँ ६० पैसाका दरले १ करोड ९२ लाख रुपैया बराबरको विद्युत् नेपालले भारतलाई दैनिक १२ घण्टा सापटी अर्थात् पैंचो दिइरहेको छ। सुक्खा याममा नेपालमा विद्युत्को उत्पादनमा कमी हुँदा भारतले आफूले लिएको पैंचो फिर्ता गर्छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले भारतको विहार राज्यमा विद्युत्को माग भएअनुसार पैंचोका रूपमा अधिकतम रक्सौलबाट ८५ मेगावाट, दुहवीबाट १५० मेगावाट, रामनगरबाट ७० मेगावाट र ढल्केबरबाट ५० मेगावाट विद्युत् गरी अहिले भारतलाई ३५५ मेगावाट विद्युत् बेलुकी ६ बजेदेखि बिहान १० बजेसम्म दिने गरिएको छ।

सरदरमा भारतले अहिले २ हजार मेगावाट आवर विद्युत् नेपालबाट खपत गर्दै आएको छ । कहिले कम र कहिले केही बेसी लिने गरेको छ। सबै विद्युत् स्टेशनबाट भारतले विद्युत् पैंचोमा लिएको हो। नेपाल विद्युत् प्राधिकरणले सुक्खा मौसममा विद्युत् फिर्ता लिएर आपूर्ति व्यवस्थापन गर्दै आएको छ। भारतले नेपाललाई विद्युत् विक्री गर्दा प्रतियुनिट भारतीय ६ रुपया लिँदै आएको छ। जुन नेपाली ९ रुपैयाँ ६० पैसा हुन आउँछ । त्यसैलाई आधार मानेर अहिले नेपालले सापटी स्वरूप दिँदै आएको विद्युत्को रकम रू. १ करोड ९२ लाख बराबरको हुन जान्छ। प्रवक्ता भट्टराईका अनुसार भारत सरकारको ऊर्जा मन्त्रालयमा नेपालबाट विद्युत् खरीद गर्ने विषयमा आधिकारिक निर्णय नभएकाले विद्युत् सापटीका रूपमा प्रयोग भइरहेको छ।

विक्रीको सम्झौता हुनासाथ नेपालले भारतलाई विद्युत् सापटीका रूपमा नभएर आधिकारिक रूपमा नै विक्री थाल्नेछ। भारतमा विद्युत्को अभाव चुलिएकाले चाँडै नै भारतको ऊर्जा मन्त्रालयले विद्युत् खरीद गर्ने विषयको सम्झौता नेपाल सरकारसँग गर्ने उनले खुलाए । नेपाल विद्युत् प्राधिकरणको दुहवी ग्रीडका प्रमुख राजेश रेग्मीले दुहवीबाट भारतको कटैया पावर हाउस र रूपनी कुसाश हुँदै भारतको कटैया पावर हाउसलाई बेलुका ६ बजेदेखि बिहान १० बजेसम्म अधिकतम १५० मेगावाट विद्युत् दिइरहेको बताए।

उनले सुक्खा मौसम शुरू भएपछि भारतको कटैयाबाट प्रदेश १ को विद्युत्को माग पूरा गर्न पुनः सापटी फिर्ता विद्युत् लिइने र हिसाब मिलान गरिने जानकारी दिए । भारतसँग विद्युत् व्यापारको सम्झौता भई नसकेकाले अहिले एकअर्काको देशलाई खाँचो पर्दा बिजुली सापटी दिने गरिएको हो । रेग्मीका अनुसार अपर तामाकोशीबाट ढल्केवर, रूपनी हुँदै दुहवी आउने १३२ केभी प्रशारण लाईन मार्फत भारतको कटैया पावर हाउसलाई १५० मेगावाटसम्म विद्युत् निर्यात गरिँदै आएको छ। केही महीना अघिसम्म साताको ३ दिन मात्र विद्युत् लिँदै आएको भारतको कटैया पावर हाउसले अहिले दैनिक रूपमा १२ घण्टा विद्युत् लिइरहेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्