मानिसले कसरी आनन्दको मार्ग समात्न सक्छ?



–ब्रह्मश्री मित्र – कुनै विषयको दार्शनिक पक्ष र वैज्ञानिक पक्ष आफ्नो ठाउँमा छँदै छ, व्यवहारिक पक्षमा सुक्ष्मभन्दा सुक्ष्म कुरालाई कसरी बुझ्ने? कसरी अनुभूत गर्ने? भन्ने नै सबैभन्दा महत्वपूर्ण कुरा हो। यसलाई सबैभन्दा विशिष्ट पक्षका रुपमा पनि लिने गरिएको पाइन्छ। हामीले सरल तरिकाले कसरी बुझ्नुपर्ने हुन्छ भने मान्छेसँग दुईवटा ‘सेल्फ’ छ, एउटा रियल सेल्फ छ– हाम्रो आत्मा, जसले मौनको भाषा बुझ्छ। अर्को, माइन्ड भनेर हामी जुन कुरालाई भनिरहेका छौं, जुन अनरियल सेल्फ हो। यसले कतिपय अवस्थामा मानिसलाई कन्फ्युज बनाएको छ।

कुनै पनि व्यक्तिले गहन साधना गरेको छैन भने उसलाई माइन्ड र स्प्रिटको बारेमा कन्फ्युज भइरहन्छ किनभने उसले दूधको दूध अनि पानीको पानी भनेर अनुभूत गरेकै छैन। शब्दहरु सुनेर, कथाहरु पढेर, प्रवचनहरु सुनेर, डिस्कोर्सहरु सुनेर, भिडियो–अडियो सुनेर अथवा कुनै पनि लेखका किताबहरु पढेर मानिसलाई यो लेभलको अनुभूति हुन सक्दैन।

एउटा कुरा हामीले के बुझ्नुपर्छ भने माइन्ड भनेको अनरियल सेल्फ भएकाले यसको आफ्नै स्वभाव हुन्छ। यो माइन्डमा हामीले के बनाएका छौं भने मन, बुद्वि, चित्त र अहं’कार भन्छौं नि हामी। यो मनमा हामीले धेरै प्रकारका आइडेन्टिफिकेसन निर्माण गरेका छौं। जस्तो कि धनी, गरिब, जात, धर्म, संस्कृति, सभ्यता, भाषा, राजनीति आदि शब्दले मनलाई आल्हादित गरिरहेको हुन्छ। हाम्रो मन चाहिँ हामीले गरेको जुन आइडेन्टिफिकेसन छ, हामीले गरेको जुन आरोपण छ। त्यसमै आधारित भएर हाम्रो मन चल्ने गर्छ।

यसका लागि कसैलाई राजनीति चाहिन्छ, कसैलाई धर्म चाहिन्छ, कसैलाई भाषा चाहिन्छ र कसैलाई साहित्य चाहिन्छ। यस्ता अनेकन कुरा मनले खेलाइरहेको हुन्छ। तर, जुन रियालिटी छ, मनको स्रोत छ, त्यो चाहिँ मनभन्दा पर छ। त्यसलाई हामीले स्प्रिट अर्थात् आत्मा भनिरहेका छौं, कन्सस्नेस भनिरहेका छौं  चाहे धर्ममा बनेका आइडेन्टिफिकेसन हुन्, चाहे राजनीतिको नाममा बनेका आइडेन्टिफिकेसन हुन्, चाहे राष्ट्र, जाति, सम्प्रदाय अनि भाषाका नाममा बनेका आइडेन्टिफिकेसन हुन्। यी सबै मन र अहंकारले निर्माण गरेका आइडन्टिफिकेसन हुन्।

जबसम्म हामी मनका यस्ता आइडेन्टिटीलाई सचेत रुपमा अवेर भएर हेर्न सक्दैनौं, तबसम्म वास्तविक अनुभूति हुन सक्दैन। हामीले शब्दलाई जुन तरिकाले परिभाषित ग¥यौं, त्यसले हामीलाई मूलस्रोतको बाटो देखाउँदैन। यसरी हामीले मूलमा भूल गरिरहेका छौं। हामीले मौनतालाई नबुझिकन जब शब्दहरुको जंगलमा हराउँछौं, त्यसबाट हाम्रो रियल सेल्फ पहिचान गर्न सक्दैनौं।

तपाईं कल्पना गर्नुहोस् त ब्राजिलको अमेजन जंगलमा हराउँदा कस्तो होला ? त्यस्तै हामी शब्दहरुको जंगलमा हराउँदा त्यसबाट बाहिर निस्कने कुनै उपाय नै रहँदैन। हामीसँग त्यस्तो शैली र शिक्षा नै छैन, दीक्षा नै छैन। यसरी सही तरिकाले बताउने गुरुको अभाव छ।

त्यसले गर्दा शब्दजालमा रुमलिएर मानिस तड्पीरहेको अवस्था छ। हाम्रो मनको लिमिटेसन छ। खुला स्थानबाट माथि हेर्दा हामी विशाल आकाशलाई देख्छौं। त्यही आकाशलाई घरको झ्यालबाट वा हवाईजहाजको झ्यालबाट हेर्दा सीमित तरिकाले अवलोकन गरिरहेका हुन्छौं।

यसरी मनको तहबाट विचार प्रयोग गरेर हामीले जगतलाई हेर्ने जुन प्रयास गरिरहेका छौं, त्यो उपयुक्त छैन। साँच्चिकै भन्नुपर्दा मूलमा भूल भइरहेको छ। ‘आइडिया मुभ्स द वल्र्ड, हु मुभ्स द आइडिया’ अर्थात् हामी त्यो आइडियाको मूल स्रोतमा जान सकेनौं।

एउटा अप्रेसन गर्ने डाक्टरको हातमा छुरा, काँटा, सियो आदि औजार छ, यसरी औजारहरु कुनै नराम्रो कुरा होइन। त्यसैगरी हाम्रो आइडिया वा विचार पनि आफैंमा नराम्रो कुरा होइन। त्यो आइडियालाई उत्पादन गर्ने हामीभित्र ‘साइलेन्स’ विद्यमान छ। मौनताको आधारभूमि, जसलाई हामीले जरो–किलो (रुट एन्ड लोकस) भन्न सक्छौं, शरीर र संवेदनाको जरो–किलो, विचार र भावनाको जरो–किलो, आइडिया र सोचाइका जरो–किलोमा नगएको कारणले गर्दा मानिस मानिस कन्फ्युजनमा छ। यही अवस्थाबाट आजको मानिस गुज्रिरहेको छ।

जबसम्म मानिसले त्यो मौनताको झल्को पाउन सक्दैन, तबसम्म गीता, वेद, बाइबल, कुरान आदि ग्रन्थ पढे पनि ऊ कन्फ्युजनमा आउँछ। यी ग्रन्थहरु त विचारका संग्रह हुन्, शब्दका संग्रह हुन्।

मूलभूत प्रश्न चाहिँ ती विचारहरुले कहाँनेर इंगित गर्न खोजेका छन् भन्ने हो। म यहाँ बसिरहेको छु, मैले सूर्यतिर औंलाले देखाए भने बिस्तारै सूर्यको बारेमा अनुभूति गर्ने यात्रा सुरु हुन्छ। तर, हातको औंलालाई समातेर बस्यो भने यात्रामा कसरी अगाडि बढ्न सकिन्छ? नत्र सूर्यको अनुभूतिबाट वञ्चित हुन्छ।

यसरी विचारको कारणले गर्दा मानिस अलमलमा परिरहेको छ। म यहाँ एउटा मानिसको मात्र कुरा गरिरहेको छैन, सम्पूर्ण मानवजाति नै विचारको शृंखलाले गर्दा बीचमै रुमलिरहेको छ।

महत्वपूर्ण सवाल चाहिँ विचारातीत भएर विचारलाई कसरी प्रयोग गर्ने भन्ने हो। विचार त तीव्र शक्ति हो, विचारको आफ्नो विज्ञान छ, विचारमा तागत छ। तर, स्रोतलाई नबुझिकन हामीले विचारहरु खेलाइरहेका छौं।

राजनीतिज्ञहरुले यति धेरै विचार खेलाइरहेका छन्, अर्थशास्त्रीहरुले यति धेरै विचारहरु खेलाइरहेका छन्, पत्रकारहरुले यति धेरै विचार खेलाइरहेका छन्, मनावैज्ञानिकहरुले यति धेरै विचार खेलाइरहेका छन्, वैज्ञानिक र दर्शनशास्त्रीले पनि विचार नै खेलाइरहेका छन्। संसारमा यति धेरै मानिसले यति धेरै विचार खेलाइरहेका छन्, तर, समाधान खै त जीवनमा? प्रश्न यहीँनेर खडा भएको छ।

मानिसको जीवनमा समाधान खै? शान्ति खै? मानिसको जीवनमा आनन्द खै? मानिसको जीवनमा प्रेम खै? मानिसको जीवनमा करुणा खै? विचार खेलाउँदा–खेलाउँदै विभिन्न राष्ट्रले हाइपरसोनिक बम बनाइरहेका छन्।

हरेक राष्ट्र अर्को राष्ट्रसँग डराएर बसेको अवस्था छ। एउटा सम्प्रदाय अर्को सम्प्रदायसँग डराएर बसेको अवस्था छ। यस्तो स्थिति किन आयो भने हामीले विचारलाई अभद्र तरिकाले प्रयोग गरिरहेका छौं। विचारको मूल स्रोत मौन हो, जबसम्म हामी त्यहाँसम्म पुग्दैनौं, समाधान निस्कने सम्भावना देख्दिनँ म।

(योगगुरु ब्रह्मश्री मित्रसँग न्युज कारखानाले गरेको कुराकानीमा आधारित)

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्