गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड ऋण कसले लियो ?



काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर बैंकबाट १९ करोड ऋण लेनदेन गरेको भेटिएको छ । अमात्यको नाममा बारामा रहेको १२ बिगाहा जग्गा धितो राखेर कुमारी बैंकबाट १९ करोड ऋण लिएको फेला परेपछि केन्द्रीय अनुसन्धान ब्युरोले त्यसबारे अनुसन्धान गरिरहेको छ । अमात्यको बारामा रहेको १२ विगाहा जग्गा धितो राखेर कुमारी बैंकको बारा शाखाबाट १९ करोड रुपैयाँ ऋण प्रवाह भएको पाइएको हो ।

यसबारे अमात्यले दशैं अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा अनुसन्धानका लागि जाहेरी दिएका थिए । त्यसअनुसार सरकारी लिखत कीर्ते सम्बन्धी कसूरमा अनुसन्धानका लागि ब्यूरोले केही साता अघि ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैंकको ऋण अधिकृत सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश चौरसियासहित नक्कली जग्गा धनी बन्ने एसके महर्जन, मुक्तिलाल गौतम र विचौलिया कुसुम प्रधान रहेको ब्यूरोका प्रमुख धिरजप्रताप सिंहले बताए ।

प्रहरीसँगको बयानमा नक्कली जग्गा धनी महर्जन र गौतमले आफूहरु पनि फसेको बताएका छन् । उनीहरुले ‘प्रधानले आफूहरुलाई डुबाएको’ बताएका छन् । ‘अहिले अमात्यको जग्गा फुकुवा भैसकेको छ’ ब्युरोका डिआइजी धिरज प्रताप सिंहले भने । कुसन सहितको समूहले नक्कली पुर्जा बनाएर गत असारमा बैंकबाट ऋण स्वीकृत गराएका थिए । तर, सो कुरा साथीमार्फत योगेश्वरले भदौमा मात्र थाहा पाएका थिए । त्यसपछि उनले ब्युरोमा उजुर गरेका हुन् । ब्युरोले आरोपीहरूमाथि सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर विस्तृत अनुसन्धान गरिरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्