तिलिचो ताल घुम्न गएका युवककाे लेक लागेर मृत्यु, उद्धार गरी काठमाडाैं ल्याइएकाे थियाे



लमजुङ : हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृत्यु भएको छ । रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली २१ कात्तिकमा काठमाडौंबाट हिँडेकाे थियाे ।

लेक लागेर बिरामी भएपछि तिलिचो बेसक्याम्पबाट साथीहरूले उनलाई फर्काएका थिए । तिलिचो ताल (४,९१९ मिटर) भ्रमणका लागि आएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

मनाङका डीएसपी सुवास खड्काका अनुसार हेलिकाेप्टरबाट उद्धार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगिएकाेमा उपचारको क्रममा थापाकाे मृत्यु भएको हो । फाइल तस्विर

यो पनि : ओखलढुंगा दुर्घटना अपडेट : एकै गाउँका चार जनाकाे मृत्यु

ओखलढुंगाकाे चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चार जना यात्रुकाे दुर्घटनामा ज्यान गएकाे छ । सुनकाेसी गाउँपालिका-९ कटुञ्जेमा भएकाे दुर्घटनामा उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

क्षमताभन्दा बढि यात्रु बाेकेकाे प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको थियाे । मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी गाेविन्द काफ्लेका अनुसार तीन जनाकाे घटनास्थल र एक जनाकाे उद्धार गरेर उपचारका लागि लैजाने क्रममा ज्यान गएकाे हाे । गम्भीर घाइते चार जनालाई हेलिकाेप्टरबाट काठमाण्डाैं पठाइएकाे छ । अन्य नाै जनाकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सिद्धिचरण नगरपालिका १० रुप्सेका रहेका छन् । दुर्घटनामा १७ वर्षीया तुलसा मगर, ३५ वर्षीया मिठुमाया मगर, ३५ वर्षीया शान्ता मगर र उमेर नखुलेका खगेन्द्र मगर छन् । अन्य एक जनाकाे समेत ज्यान गएकाे बताइए पनि पहिचान हुन सकेकाे छैन ।

एकै गाउँका मिलेर मन्दिरमा दर्शन गर्न गएका थिए । दुर्घटनमा एकै गाउँका चारकाे मृत्यु र दर्जन बढि घाइते भए पछि गाउँ नै शाेकमा डुबेकाे छ । गाउँका मान्छे यति धेरै दुर्घटनामा परेकाले आफन्त र छरछिमेक सबै शाेकमा डुबेकाे सिद्धिचरण- १० का वडा अध्यक्ष दामाेदर धमलाले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्