‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ घोषणा, विजेताले टोयोटा कार र १० तोला सुन पाउने



काठमाडौं : अमेरिका र क्यानडामा रहेका नेपाली भाषीलाई लक्षित गरी दुई रियालिटी शो ‘मेरो भ्वाइस कप अमेरिका यूएसए-२’ र ‘मेरो डान्स कप यूएसए-४’ को घोषणा गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त दुई रियालिटी शोको घोषणा गरिएको आयोजक संस्था इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए । उनका अनुसार जनवरीबाट शो सुरू गर्ने तयारी भइरहेको छ ।

मेरो भ्वाइस कप अमेरिका यूएसए–२ को जजका लागि प्रस्तावित जजमा गायक प्रमाेद खरेल छन् । मेरो डान्स कप यूएसए–४’ को जजमा नायक दिलीप रायमाझी, शंकर विसी, नरमान राई र नायिका केकी अधिकारी छन् ।
प्रतिभाहरुलाई अवसर दिने उद्येश्यले आयोजना गर्न लागिएको यी दुई रियालिटी शोको अमेरिकाको विभिन्न शहरमा अडिसन हुने अभिनेत्री केकी अधिकारीले जानकारी दिइन् । अडिसनबाट छानिएका करीब २० जना नव प्रतिभाले यस रियालिटी शोमा सहभागिता जनाउन पाउने उनको भनाई छ । ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ का विजेताले टोयोटा कार र १० तोला सुन प्राप्त गर्नेछन् ।

त्यस्तै, दोस्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक उपहार पाउनेछन् भने तेस्रो हुनेले एउटा सिल्भर कप र आकर्षक उपहारहरु पाउने आयोजक सदस्यमध्येकी अभिनेत्री रीमा विश्वकर्माले जानकारी दिइन् । ‘इन्टरनेशनल होम केयर’ का सञ्चालक डिल्ली अधिकारीको आयोजनामा ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ हुन लागेको हो । नृत्य र गायनमा रुचि हुनेका लागि यो रियालिटी शो ओपन प्लाटफर्म रहेको अभिनेत्री केकी बताउँछिन् ।

‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार साँझ अमेरिका प्रस्थान गर्न लागेकी उनले नयाँ प्रतिभाहरुलाई अवसर र कला सस्कृतिलाई जोगाउने हिसाबले यो रियालिटी शो आयोजना हुँदै आएको बताइन् । उनी ‘मेरो डान्स कप’ को दोस्रो र तेस्रो सिजनमा पनि निर्णायकको भूमिकामा थिइन् । दुवै रियालिटी शोको ग्रान्ड फिनाले अगस्टमा हुनेछ

‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को उद्घाटन कार्यक्रममा नेपाली फिल्म र सांगीतिक क्षेत्रका चर्चित व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ । सन्दीप क्षेत्री, बाबु बोगटी, दीलिप रायमाझी, सुशील क्षेत्री, सारंगा श्रेष्ठ, मेलिना मानन्धर, अरुणिमा लम्साल, शिव परियार, अञ्जु पन्तलगायत ३० भन्दा बढी फिल्म र संगीत क्षेत्रका व्यक्तिहरुकोे उपस्थिति रहने कार्यक्रममा जानकारी गराइयो ।

अभिनेत्री केकी ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार अमेरिका प्रस्थान गर्न लागेको भए पनि गायक प्रमोद खरेल भने केही समयपछि मात्र अमेरिका जानेछन् । गायक खरेलले विदेशी भूमिमा यस खालका कार्यक्रमहरु हुनु एकदमै राम्रो रहेको बताए ।

नेपाली भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै आएका अधिकारीले उक्त रियालिटी शोमार्फत अमेरिकार र क्यानडामा रहेका नेपाली भाषीमा नेपाली भाषा, संस्कृतिको जागरुकता ल्याउने प्रयास गरेको बताए ।

समाजसेवामा सक्रिय रहँदै आएको उक्त आयोजक संस्थाले नेपालमा रहेका ज्येष्ठ भुटानी शरणार्थीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता स्वरुप उपलब्ध गरउँदै आएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

शरणार्थी शिविरमा गएर आर्थिकदेखि लत्ताकपडा, खाद्यान्न उपलब्ध गराउँदै आएको सो संस्थाले नेपालको मौलिक संस्कृति, भाषा, कला संगीतको प्रवर्द्धनमा पनि क्रियाशील रहँदै आएको उनले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्