कमल थापालाई लाग्यो झट्का: राजेन्द्र लिङ्देनले गरे राप्रपा अध्यक्षमा उमेदवारी घोषणा, धवलशमशेर महामन्त्री



काठमाडौं । राप्रपा सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । उनले महामन्त्री धवलशमशेर जबरासहितको प्यानल रहने घोषणा गरेका हुन् । अहिलेको नेतृत्ववाट पार्टी नचल्ने भएकाले नयाँ नेतृत्वको आवश्यकता परेको उनको भनाई थियो । यद्धपी उनले अग्रज नेताहरुको आलोचना भने नगर्ने बताए ।

“अध्यक्षत्रयबाट पार्टी चल्दैन, तपाईंहरु नभए पनि यो पार्टी चलाउने मान्छे छौँ है भनेर हामीले कार्यक्रम गरेका हौँ । धवल शमशेर राणाले मलाई अध्यक्ष प्रस्ताव गर्नुभएको छ, त्यो म स्वीकार गर्छु र अधिवेशनबाट अध्यक्ष लड्ने घोषणा गर्दछु,” उनले भने, “म नेतृत्वलाई गाली गर्दिन, समयले परिवर्तन खोज्यो । त्यसैले अध्यक्षमा उमेदवारी घोषणा गरेको हो ।”

महामन्त्रीमा उमेदवारी दिने तयारी गरेका राणाले आफूहरु राजासहितको प्रजातन्त्रको पक्षमा रहेको र हिन्दु राष्ट्रको चाहना गरिएको बताए । उनी नेपालगञ्जका उपमहानगरपालिकाका मेयरसमेत हुन् । हाल राप्रपामा कमल थापा, पशुपति शम्शेर जबरा र डा। प्रशाचन्द्र लोहनी तीन अध्यक्ष छन् । कमल थापाले अध्यक्षमा उम्मेदवार दिने निश्चित छ । यसअघि धवलसम्शेरले पनि आफूलाई अध्यक्षकै आकांक्षीका रूपमा उभ्याएका थिए ।

तर, लिङ्देनसँगको समझदारीमा उनी महामन्त्री बस्न तयार भएका छन् । लिङ्देन र राणाको गठजोड कमल थापाका लागि चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ । अन्य दुई अध्यक्षको अडान अहिलेसम्म प्रष्ट भइसकेको छैन । तर, राप्रपाको युवा पुस्तामा लिङ्देन बढ्दो रुपमा लोकप्रिय छन् । पार्टीमा नयाँ नेतृत्व आउनुपर्छ भनने मत बलियो छ । लिङ्देन प्रदेशमा बलियो देखिएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्