चितवन प्रशासनले गरेको निर्णय योगेश भट्टराईलाई थाहा नभएपछि…



काठमाडौ । नेकपा एमालेको महाधिवेशनलाई लिएर चितवनमा सार्वजनिक सवारी साधन चल्न नदिने प्रशासनको निर्णयवारे आफुहरुलाई जानकारी नभएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् । उनले सवारी साधन चल्न नदिने निर्णय गलत भएको बताए । उनले महाधिवेशनको समयमा स्वयंसेवकले नै सवारी साधन सुचारू गराउने दाबी गरेका छन्।

महाधिवेशनस्थलमा प्रेस चौतारी चितवन शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । शुक्रवार देखि चितवनमा हुने एमालेको महाधिवेशनका लागि नेताहरु प्राय सबै चितवन पुगिसकेका छन् । महाधिवेशनमा सार्वजनिक सवारी साधनमा अवरोध गर्ने पार्टीको नीति नरहेको भन्दै प्रशासनले गरेको निर्णय प्रति अनभिज्ञता ब्यक्त गरे । ‘हामीले ठूला मालवाहक सवारी साधनलाई एक दिन नचलाएर सहयोग गरिदिन आग्रह गरेका छौं तर अत्यावश्यकीय र सार्वजनिक सवारी सञ्चालनमा एमालेले अवरोध गर्दैन,’ उनले भने, ‘बरू स्वयंसेवकले सहजरुपमा पास हुने व्यवस्था मिलाउनेछन्।’

उनले ‘नो भेइकल मुभमेन्ट’ दुनियाँमा कतै पनि नहुने भएकाले एमालेको पनि त्यस्तो नीति नभएको स्पष्ट पारे । जिल्ला सुरक्षा समिति चितवनको बैठकले मंसिर १० गते विहान ९ बजेदेखि साढे ५ बजेसम्म नेकपा एमालेको महाधिवेशनलाई मध्यनजर गरेर भरतपुरका विभिन्न सडकमा सवारी निषेध गर्ने निर्णय गरेको थियो।

पूर्व(पश्चिम राजमार्ग र नारायणगढ(मुग्लिन सडकको केही हिस्सामा समेत सवारी साधन नचल्नेगरि गरिएको निर्णयको सर्वत्र विरोध भएको थियो। उक्त दिन पश्चिम नेपालबाट एम्बुलेन्स पनि चितवन प्रवेश गर्न सक्ने अवस्था नरहेको प्रशासनले बताएको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्