बालुवाटार जग्गा प्रकरण : विजय गच्छदार र दीप बस्न्यातलाई पक्राउ गर्न सीआइबीलाई खुल्यो बाटो


banner

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) लाई बाटो खुला भएको छ ।

ललिता निवासको जग्गा किर्ते प्रकरणबारे अनुसन्धान गरिरहेको सीआइबीलाई यस प्रकरणमा मुछिएका गच्छदार र बस्न्यातलगायतलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पुर्जी दिएको छ ।

गच्छदार र बस्न्यातसँगै ३ सय बढीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको बताइएको छ । पक्राउ पुर्जीमा तत्कालीन मन्त्री र सचिवहरु समेत रहेको बताइएको छ । उक्त काण्डमा हाई प्रोफाइलका व्यक्तिहरू संलग्न रहेकाले प्रहरीले फेला परेका केही व्यक्तिलाई मात्र पक्राउ गरेर अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । ब्युरोले पुस महिनाभित्र मुद्दा अदालतमा बुझाइसक्नुपर्ने भएकाले केही व्यक्तिलाई पक्राउ गरी हाई प्रोफाइलका व्यक्तिलाई भने पक्राउ नगरीकनै अनुसन्धान प्रतिवेदन मात्रै अदालतमा बुझाउने तयारी गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री देशबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रयोग गरेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीमार्फत ब्युरोलाई हाइप्रोफाइलका व्यक्तिलाई सकेसम्म पक्राउ नगर्नु भन्ने आशयको निर्देशन दिएपछि ब्युरोले अनुसन्धान प्रतिवेदन मात्रै अदालतमा पेस गर्ने तयारी गरेको छ । ब्युरोले हाई प्रोफाइलका व्यक्तिको अनुसन्धान प्रतिवेदन अदालतमा बुझाएपछि उनीहरू अदालतमा सेटिङ गरी धरौटीमा छुट्ने प्रपन्च गरिरहेको स्रोतको दाबी छ ।

ब्युरोका प्रमुख डीआईजी धीरजप्रताप सिंहले भने ३ सय जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको र उनीहरूको खोजीलाई ब्युरोले तीव्र बनाएको दाबी गर्नुभयो । उहाँले अदालतबाट पक्राउ पुर्जी जारी भएका सबैको खोजीका लागि ब्युरोले टोली परिचालन गरेको दाबी गर्दै भन्नुभयो– ‘हामी दोषी देखिएका सबैलाई पक्राउ गरी अदालतमा पेस गर्छौं ।’

उक्त जग्गा प्रकरणमा अख्तियर दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, पूर्वसचिव दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोलगायत मुछिएका छन् । बालुवाटार जग्गा प्रकरणका मुख्य बिचौलिया शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई यसअघि नै प्रहरीले पक्राउ गरेको भए पनि अन्य व्यक्तिलाई भने राजनीतिक दबाबका कारण प्रहरीले पक्राउ गर्न सकेको छैन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्