एकै जहाजमा सवार १२५ जनालाई संक्रमणको पुष्टी भएपछी…..



छिमेकी मुलुक भारतमा भाइरस संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। नेपालसँग जोडिएको पश्चिम बंगालमा संक्रमितहरु ह्वात्तै बढेका छन्। राज्यमा संक्रमण दर २३.१५ प्रतिशत मृत्यु दर १.१८ प्रतिशत पुगेको छ। राज्यमा २ हजार ७५ संक्रमित अस्पतालमा छन्। अहिले त्यहाँ १९ हजार ५१७ बेड उपलब्ध छन्।

मुख्यमन्त्री ममता बनर्जीले राज्यमा आउने जानेका लागि आरटी पिसिआर अनिवार्य गरेकी छन्। ममताले अबको १५ दिन अति जोखिमयुक्त हुन सक्ने बताएकी छन्। अब राज्यमा कडाइ गर्ने बताउँदै उनले शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने भएकी छन्।

कोरोनाको तेस्रो लहरमा बंगालमा धेरैजसो बालबालिका संक्रमित भेटिएका छन्। ६ वर्षभन्दा तलका बालबालिकालाई अहिलेसम्म भ्याक्सिनका लागि समावेश गरिएको छैन। उनीहरुमा ठूलो संख्यामा कोरोनाका लक्षण देखिएका छन्। यी बालबालिकामा श्वास लिन समस्या, कमजोरी र तीव्र ज्वरोसहितका समस्या देखिएका छन्। त्यहीकारण उनीहरुलाई अस्पताल भर्ना गर्नुपरेको छ।

१२५ यात्रीलाई संक्रमण
उता पञ्जावको अमृतसरमा बिहीबार आइपुगेको एअर इन्डियाको एक जहाजमा सवार १२५ यात्रुलाई कोरोना भएको छ। यो जहाजमा जम्मा १९१ यात्रु सवार थिए। यो जहाज इटालीबाट पञ्जाबको अमृतसर इन्टरनेशनल एयरपोर्टमा आएको थियो।

अहिले सबै संक्रमितलाई अमृतसरमा क्वारेन्टाइन गरिएको छ। भारतमै पहिलो पटक यतिधेरै संख्यामा एकै जहाजका यात्रुलाई कोरोना भएको हो। भारतका केन्द्रीय गृह राज्यमन्त्री नित्यानन्द राय पनि कोरोना पोजिटिभ भएका छन्। उनले ट्विट गरेर यसको जानकारी दिएका हुन्।

गुजरातमा १० जनवरीदेखि १२ सम्म हुने भाइब्रेन्ट गुजरात समिट सारिएको छ। यस समिटको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्न लागेका थिए। दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनका अनुसार बिहीबार राजधानीमा १४ हजार नयाँ संक्रमित भेटिएको आशंका छ। उनले दिल्लीमा पहिलेदेखि नै कडा गरिएको बताएका छन्। अस्पतालमा पर्याप्त बेड रहेको पनि उनले बताएका छन्। दिल्लीमा अहिलेसम्म लकडाउनको योजना बनाइएको छैन।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्