संक्रमण बढ्न थालेपछि सिसिएमसिसीको बैठक बस्यो, लकडाउन लगाउने बिषयमा पनि छलफल हुने



नेपालमा भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठक राखेको छ। शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भइरहेको छ।

बैठकमा सिसिएमसिसीका तर्फबाट नेपालमा संक्रमणको अहिलेको अवस्था र आउन सक्ने चुनौतीबारे प्रिजेन्टेसन प्रस्तुत गरिएको छ भने स्वास्थ्य मन्त्रालयले परीक्षण र खोप अभियानबारे प्रस्तुति दिइएको छ।

पछिल्ला केही दिनयता नेपालमा संक्रमण बढ्न थालेको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले पुस महिनामा थप २४ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी दिएको छ। छिमेकी भारतमा बिहीबार एकैदिन १ लाख १६ हजार जनामा संक्रमण पुष्टि भएको छ। भारतमा तीव्र भएसँगै नेपालका नाकाहरूमा पनि निगरानी बढाउनु पर्ने भएको छ।

ओमिक्रोन संक्रमितमध्ये केही स्थानीयसमेत रहेको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले शुक्रबार एक विज्ञप्ति निकालेर पुस लागेयता संकलित ११४६ पोजेटिभ नमुनाहरूको एस जिन स्क्रिनिङ गर्दा उक्त संख्यामा ओमिक्रोन भेरियन्ट देखिएको पुष्टि गरेको छ।

‘देशभरबाट संकलित नमुनाहरुमध्ये उक्त संख्यामा ओमिक्रोन भेरियन्ट देखिएको हो,’ डा. पौडेलले भने, ‘देखिएकामध्ये केही विदेशबाट आएका र केही स्थानीय पनि छन्। यसको संकेत समुदायस्तरमा पनि ओमिक्रोन देखिन थाल्यो भन्ने हो।’

नयाँ भेरियन्ट ओमिक्रोनलाई एकदमै संक्रामक भाइरस मानिन्छ। छिमेकी भारतमा यही भेरियन्टका कारण दैनिक एक लाखको हाराहारीमा संक्रमण देखिन थालिसकेको छ। नेपालमा पनि ओमिक्रोनको संक्रमण देखिएपछि शुक्रबार भाइरस संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिको बैठक समेत बसिरहेको छ।

यो बैठकले नयाँ लहर फैलिन नदिने सम्भावित विकल्प र कदमहरू चाल्न सक्नेछ। यो बैठक अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बसिरहेको छ। आवस्यकता परेको खण्डमा खतरा रहेका ठाउँमा लकडाउन गर्ने या केहि मापदण्ड बनाउने बिषयमा पनि छलफल हुने भएको छ ।

छिमेकी भारतबाट आएका सयौँ नागरिकमा पनि संक्रमण देखिन थालेपछि सरकारले सतर्कताका उपाय खोज्न थालेको हो। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले ओमिक्रोन भेरियन्टबाट हुन सक्ने बिरामीको अ’त्यधिक चापलाई ख्याल गर्दै सबै अस्पतालहरुलाई उच्च तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकार दिएकी छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्