गठबन्धन सरकारका देउवा, प्रचण्ड र माधवले हारको डरले उपनिर्वाचन गराएन : प्रभु साह



राजविराज : नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले हारको डरले गठबन्धन सरकारले चुनाव नगराएको आरोप लगाएका छन् । शुक्रबार राजविराजस्थित राज रंगशालामा आयोजित एमालेको नवौं सप्तरी जिल्ला अधिवेशनमा साहले उपनिर्वाचन नगराउनु सरकारको अक्षम्य अपराध गरेको बताए ।

विभिन्न जालझेल तथा षड्यन्त्रपूर्ण ढंगले परमादेशबाट आएको सरकार जनतामाझ जानबाट डराएको पुष्टि भएको उनको भनाइ छ । एउटै विधि मानेर राष्ट्रिय सभाको चुनाव गर्न सक्ने सरकारले ६ महिनाभित्र अनिवार्य चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था लत्यानुले गठबन्धन सरकार जनताबाट बहिष्कृत रहेको पुष्टि भएको नेता साहले जिकिर गरे ।

‘पछिल्लो राजनीतिक उतारचढावको नतिजास्वरुप देशका विभिन्न क्षेत्र आज प्रतिनिधिविहीन छ । संविधानले नै एक वर्ष कार्यकाल बाँकी रहेको अवस्थामा अनिवार्य रुपमा ६ महिनाभित्र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ,’ नेता साहले भने, ‘विभिन्न षड्यन्त्रपूर्ण ढंगबाट बनेको परमादेशी गठबन्धन सरकार जनताबाट डराइरहेको छ । चुनाव हारिन्छ कि भन्ने त्रासका बीच यो जनविरोधी सरकारले उपनिर्वाचन गर्न नचाहेर पुष्टि गरेको छ कि वर्तमान सरकार जनताबाट बहिष्कृत सरकार हो ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्