के अब उपत्यकामा स्मार्ट लकडाउन लगाउने तयारी भएकै हो ?



काठमाडौँ- भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोभिड नियन्त्रणका लागि विभिन्‍न उपाय अपनाउने बताएकी छिन् । जिल्लाभित्र संक्रमण रोक्‍न स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गराइने उनले बताइन् ।

‘स्वास्थ्य मन्त्रालय र सिसिएमसीको निर्देशनअनुसार कोभिड नियन्त्रणका लागि कदम चालिन्छ,’ उनले भनिन्, ‘निषेधाज्ञा वा स्मार्ट लकडाउन लगाउने विषयमा केही तयारी भएको छैन ।’

उपत्यकाको तीनै जिल्लाका प्रमुखको बैठक बसेर एक-दुई दिनमा निर्णय गर्ने उनको भनाइ छ । सर्वसाधारणलाई सामाजिक दूरी कायम गर्न र खोप लगाउने कार्यलाई निरन्तरता दिने अभियानलाई तीव्रता दिने उनले प्रस्ट पारिन् ।

उपचार केन्द्रको व्यवस्था र कोभिड परीक्षणको दायरा फराकिलो बनाइने उनले बताइन । शर्माले जिल्लाभित्र कोभिड नियन्त्रण गर्नका लागि आज छलफल हुने जानकारी दिइन् ।

‘एउटा जिल्लामा मात्र निषेधाज्ञा वा लकडाउन गर्ने कुरा हुँदैन,’ उनले भनिन,’ कतै खुकुलो र कडाइ नगरिने तथा स्मार्ट लकडाउन गर्नुपरे उपत्यकाको तीन जिल्लामा एकसाथ गरिन्छ ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्