तेश्रो लहर सुरु भएको भन्दै सिसिएमसी बैठकले लगायो सर्वसाधारणका लागि कडा नियम, यी क्षेत्रहरु पुर्णरुपमा बन्द गर्ने निर्णय



सङ्क्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । संक्रमणको नयाँ प्रजाति आमिक्रोनको सङ्क्रमण विस्तार भएको तथा देशव्यापी रुपमा सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएपछि सिसिएमसीका तर्फबाट त्यस्तो सिफारिस भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज मात्रै देशभर एक हजार १७६ जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणको मात्रामा पछिल्ला दिनमा व्यापक वृद्धि भएको छ । कम्तीमा पनि १५ दिन विद्यालयलगायत बढी भी’डभा’ड हुने सार्वजनिक स्थानलाई बन्द गर्न सिफारिस गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रका सहसचिव एवं प्रवक्ता सुनिता नेपालका अनुसार संक्रमणको बढ्दो जोखिमलाई ख्याल गर्दै तत्कालका लागि आगामी माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरिएको छ ।

सिसिएमसीले गरेको सिफारिसलाई कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ । केही विद्यालयले हिउँदे बिदा गरेका छन् । केही विद्यालय तथा कलेजमा परीक्षा जारी छ । परीक्षा जारी रहेका कलेजलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । हिउँदे बिदा गरेका विद्यालयलाई भने आगामी माघ १५ सम्म लैजान भनिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थिति थियो । बैठकले बढी भी’डभा’ड हुने सिनेमा घर, पार्क, सार्वजनिक स्थानमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

समितिले होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला र विमानस्थल र पार्कसहितका सार्वजनिक स्थानमा प्रवेश गर्न कोभिडविरद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने निर्णय गरेको छ। सार्वजनिक स्थानमा कडाइ गर्दै सीसीएमसीले दलहरूलाई सभा, सम्मेलन रोक्न पनि सरकारलाई सिफारिस गरेको छ।

राजनीतिक दललाई भी’डभा’ड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको छ । बैठकले जिल्लाको अवस्था हेरे थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

नेपालले स्मार्ट लकडाउनको कार्यविधि लागू गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरिने पनि बताइन्। उनले आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश नपाउने गरी नियम लागु गरिने बताइन्।

सीसीएमसी समन्वय केन्द्रले सार्वजनिक स्थानमा एन्टिजेन परीक्षण गर्न पनि स्वास्थ्य मन्त्रालयलाई भनेको छ। केन्द्रले होल्डिङ सेन्टर फेरि सञ्चालन गर्न भनेको छ। ​

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्