फेरि कडाइका साथ लागू हुने भयो स्मार्ट लकडाउन , के गर्न पाईन्छ ? के गर्न पाईदैन? जान्नुहोस



काठमाडौँ – स्मार्ट लकडाउनसम्बन्धी यसअघिको कार्यविधि फेरि कडाइका साथ लागू हुने भएको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेकोे हो । बैठकपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले भनिन्, ‘गत कोरोना महामारीमा नै हामीले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि लागु गरेका थियौँ ।

त्यो कार्यविधिलाई प्रमुख जिल्ला अधिकारीले थप कडाइका साथ कार्यान्वयन गर्नका लागि निर्देशन दिन गृह मन्त्रालयलाई सिफारिस गरिएको छ ।’ सरकारले अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । उनका अनुसार सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको क्‍याक्सिन कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्‍ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्‍यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्णय भएको छ ।?

यस्तै सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने बैठकले निर्णय गरेको हो । यस्तै बैठकले सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ ।

नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ । आइतबार नै सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्