लकडाउनका बारेमा स्वास्थ्य मन्त्रालयको के छ योजना ?



काठमाडौ । नेपालमा फेरी एक पटक कोभिडले टाउको उठाउन लागेको छ । कोभिड संक्रमितको बढ्दो संख्यालाई मध्यनजर गर्दै सीसीएमसीको बैठकले विभिन्न कडा नियम लागू गरेको छ । सार्वजनिक स्थलमा जाँदा कोभिड खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने र आन्तरिक उडानमा समेत कार्ड चाहिने नियम लागू गरेको छ । कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको ठहर गर्दै कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कक्षा १० सम्मका सबै विद्यालय आगामी माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस समेत गरेको छ ।

दिनहुँ एक हजार भन्दा माथि संक्रमित थपिन थालेको र ओमिक्रोनका संक्रमित समेत देखिन थालेपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको हो । २५ जना बढी मानिस एकै ठाउँ जम्मा नहुन र सार्वजनिक स्थलहरूमा खोप कार्ड देखाएर मात्र प्रवेश दिन भनेको छ।

सिसिएमसीको यस्तो कडा नियम लागू गर्ने निर्णयपछि अब फेरी लकडाउनका बारेमा के हुने हो भन्ने चासो सवत्र छ । सरकारले लकडाउन गर्न निर्णय लिने अधिकार सिसिएमसी र जिल्लास्तरीय डिसिसिएमसीलाई दिएको छ। तर स्वास्थ्य मन्त्रालयको समय यसमा निर्णय हुन्छ । मन्त्रालयको धारणा सहित यि निकायले लकडाउनवारे निर्णय गर्ने हुन् ।

त्यसैले मन्त्रालयको विज्ञका लकडाउनका बारेमा के छ धारणा भन्ने कुराको बढी महत्व राख्दछ । काठमाडौं उपत्यकाको हकमा पछिल्लो एक सातायता संक्रमण तीव्र फैलिएसँगै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू निरन्तर छलफलमा छन्। तर स्वास्थ्य मन्त्रालयले तत्काल लकडाउन गर्नुपर्छ भन्ने पक्षमा नरहेको जनाएको छ । तर कोभिडको अवस्था कस्तो हुन्छ त्यस पछि मात्र लकडाउनवारे निर्णय लिइने विज्ञको भनाई छ ।

बढी जोखिम भएका क्षेत्रलाई विशेष निगरानी राख्ने र स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई सचेत बनाउने तत्कालिन योजना मन्त्रालयको छ तर स्वास्थ्य प्रणाली नै धरासायी बन्ने स्थिति आइपर्‍यो भने मात्र लकडाउनको रणनीतिमा जानुपर्ने अधिकारीहरु बताउँछन् ।
अस्पतालको साधन श्रोतले पुग्ने अवस्था रहँदा सम्म लकडाउन गर्ने मनस्थितीमा नरहेको विज्ञहरुको भनाईवाट बुझ्न सकिन्छ ।

अहिले देशभर झन्डै २८ सय आइसियू बेड र एक हजार भेन्टिलेटर तयारी अवस्थामा रहेका छन्। जुन संख्या दोस्रो लहरको भन्दा दोब्बर बढी हो। किनकी गत वैशाखयता दोस्रो लहर सुरू हुँदा र उत्कर्षमा पुग्दासमेत देशभर एक हजारको हारहारीमा आइसियू बेड थिए। त्यसैले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न सके त्यसपश्चात आउने समस्यालाई अहिले भएका स्रोतले धान्नसक्ने मन्त्रालयको बुझाइ छ।

संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन पनि तत्काल लकडाउन गर्नु नपर्ने बताउँछन्। उनले अहिले फैलिरहेको संक्रमण छिटो फैलिए पनि त्यसले घातक बनाउने सम्भावना निकै कम रहेको भन्दै पहिले त्यो अवस्थाको निर्क्यौल गर्नुपर्ने जनाए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्