पृथ्वी जयन्तीमा कहाँ कहाँ छ सार्वजनिक विदा ?



काठमाडौ । पृथ्वी जयन्तीका अवसरमा देशभरी सार्वजनिक विदा दिन माग हुँदै आएको छ । राप्रपा लगायतका केही राजावादी संगठनहरुले विदाको माग गरेका छन् । तर केही जिल्ला र नगरपालिकाहरुमा भने सार्वजनिक विदा दिने निर्णय नै भएको छ । गोरखाको गोरखा नगरपालिका र नुवाकोटको विदुर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पुस २७ मा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकीकरण दिवस मनाइँदैछ। नगर कार्यपालिकाको पुस १८ को निर्णयअनुसार पुस २७ मा सार्वजनिक बिदा दिने निर्णय भएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए। उनकाअनुसार नगरपालिका कार्यालय, वडा कार्यालयहरू, नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको छ।

नगरपालिकाले पृथ्वी जयन्तीका अवसरमा दौड तथा दीप प्रज्ज्वलनलगायत कार्यक्रमसमेत राखेको छ। यस्तै नुवाकोटको विदुरमा पनि सार्वजनिक बिदा दिइएको छ।

प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले पृथ्वीनारायण शाह जन्मेको दिन पुस २७ गतेलाई रााष्ट्रिय एकीकरण दिवसका रूपमा मनाइने भएकाले विदुर नगरपालिकासहित नगरभित्रका पालिकाअन्तर्गत रहेका वडा कार्यालयहरु, स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरू, शैक्षिक संस्थाहरूलाई सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरेका छन्।

पृथ्वी जयन्तीका अवसरमा विदुर नगरपालिकाका विभिन्न स्थानमा भिन्नाभिन्नै कार्यक्रमका साथ राष्ट्रिय एकता दिवस मनाइने गरिएको छ। नुवाकोटको साततले दरबार क्षेत्र, देवीघाटस्थित पृथ्वी स्मारक र पृथ्वीनारायण शाहको अन्तिम दाहसंस्कार गरिएको स्थल तादी र त्रिशूली नदीको सङ्गम जालपादेवी मन्दिर परिसरमा छुट्टाछुट्टै कार्यक्रमका साथ पृथ्वी जयन्ती मनाउन तयारी भइरहेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्