२७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय, बालबालिकालाई खोप लगाउन आग्रह (पत्रसहित)



काठमाडौं : शिक्षा मन्त्रालयले २७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन सिफारिस गरेको छ।

सोमबार शिक्षा मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी १५ माघसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । सोहीअनुसार आज मन्त्रालयले निर्णय गरेको हो ।
मन्त्रालयले बिदाको अवधिमा पनि विद्यार्थीलाई पठनपाठनमा सहजीकरण गर्न विद्यालयहरूलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ: ‘विदाको अवधिमा विद्यालयहरूको सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीहरुको सिकाइमा सहजीकरण गर्ने प्रबन्ध मिलाउनुहुन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुले पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना हुनेगरी जेड आकारमा बसाई व्यवस्थापन गरी सञ्चालन गर्न समेत सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

पछिल्ला दिन संक्रमण ह्वात्तै बढेपछि आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्