प्रधानमन्त्री देउवा र सञ्चारमन्त्री कार्कीले पनि गराए पीसीआर, आयो यस्तो रिपोर्ट




काठमाडौ । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड लगायत नेताहरु र केही मन्त्री समेत संक्रमित भएपछि कन्ट्रयाक ट्रेसिङमा परेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्वास्थ्य परिक्षण गराएका छन् । कोभिडको जोखिममा परेपछि होम आइसोलेसनमा बसेका प्रधानमन्त्री देउवाले पनि पीसीआर जाँच गराएका हुन् । उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

सोमबार गरिएको पीसीआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाले परीक्षण गराएका थिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि उनले आइतबार परीक्षण गरेका थिए।

परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको सञ्चारमन्त्री कार्कीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उनको शुक्रबार फेरि कोरोना परीक्षण गरिने छ। शुक्रबार फेरि कोरोना परीक्षण गरिने भएकाले मन्त्री कार्कीको नियमित भेटघाट बन्द गरिएको छ।

शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो। सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा सहभागी हुँदै आएका थिए। शुक्रबार मात्रै बसेको सत्तारुढ दलका शीर्ष नेताहरु संलग्न गठबन्धन समन्वय समितिको बैठकमा मन्त्री कार्की सहभागी थिए। त्यसअघि बिहीबार पनि सत्ता गठबन्धनको बैठक बसेको थियो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन्। यस्तै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेता रामचन्द्र पौडेलले पनि भेटघाट बन्द गरेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्