अब विद्यार्थी तथा शिक्षकले पनि अनिवार्य खोप कार्ड बोक्नुपर्ने



काठमाडौ । कोभिड अनियन्त्रित तरिकाले बढ्न थालेपछि सीसीएमसीले सार्वजनिक स्थलमा जान खोप कार्ड अनिवार्य गरेको छ । विद्यालय बन्द गर्ने देखि सार्वजनिक स्थलमा जाँदा खोप कार्ड लिएर जानुपर्ने निर्णय गरेको हो । सीसीएमसीको सिफारिस अनुसार नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूका लागि ७ बुँदे सूचना जारी गरेको छ। मंगलवार देखि १५ दिन विद्यालय बन्द गर्नुपर्ने र क्याम्पस तहको परिक्षा पनि स्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्न निर्देशिका जारी गरेको हो ।

पुस २७ देखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको मन्त्रालयले यसबीचमा विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। मन्त्रालयको यो निर्णयसंगै अब विद्यार्थीले विद्यालय वा क्याम्पस जाँदा पनि खोप कार्ड बोक्नुपर्ने हो की भन्ने जिज्ञासा उत्पन्न भएको छ । मन्त्रालयको यो निर्णयवाट अब विद्यार्थीले खोप कार्ड बोकेर हिड्नुपर्ने भएको छ ।

बिदा अवधिमा विद्यालयका प्रधानाध्यापकले स्थानीय तहमा रहेको स्वास्थ्य चौकीसँग सम्पर्क गरी १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोही पनि नछुट्ने गरी खोप लगाउने अभियानमा आवश्यक समन्वय र सहजीकरण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

१८ वर्षभन्दा माथिका विद्यार्थी र शिक्षक तथा कर्मचारीहरूले पनि खोपका लागि स्थानीय तहमा रहेको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने मन्त्रालयको भनाइ छ। साथै विद्यार्थीलगायतले अब शैक्षिक संस्थामा जाँदा खोप कार्ड बोक्नुपर्ने भएको छ।

‘माघ ७ देखि शिक्षण संस्थामा प्रवेश गर्ने सबैले खोप कार्ड अनिवार्य रूपमा साथमा राख्ने प्रवन्ध सम्बन्धित शिक्षण संस्थाले मिलाउने’ मन्त्रालयले आज जारी गरेको सूचनाको ५ नम्बरमा उल्लेख छ। अर्को सूचना जारी नभएसम्म अभिभावक दिवस वा वार्षिक उत्सवजस्ता सार्वजनिक कार्यक्रम नगर्न पनि विद्यालयलाई मन्त्रालयले आग्रह गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्