काठमाडौमा लकडाउनको निर्णय गर्न सिडियो छलफलमा, कहाँ कहाँ होला लकडाउन ?



काठमाडौ । काठमाण्डौ उपत्यकामा बढ्दै गएको कोभिडका कारण स्मार्ट कलडाउन वारे निर्णय गर्न अहिले उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको छलफल सुरु भएको छ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेपछि स्मार्ट लकडाउन गर्नुपर्ने अवस्थामा प्रशासन पुगेको हो । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन् ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले आवश्यक निर्णय लिन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । सोही बमोजिम उपत्यकाका सिडिओहरु छलफलमा जुटेका छन् ।

‘हामीले पाएसम्मको अधिकार प्रयोग गर्छौं । सोही विषयमा छलफल हुन्छ । स्मार्ट लकडाउनलगायतका विषयमा छलफल भएको छ ’ सिडिओ शर्माले भनिन् ।

पछिल्लो समय काठमाण्डौ उपत्यकामा ओमिक्रोनको संक्रमण बढिरहेकाले अस्पतालहरुलाई तयारी अवस्थामा राख्न र सम्भावित भीडभाडलाई कम गर्नका लागि उपत्यकाका सिडिओहरु आन्तरिक छलफलमा जुटेका हुन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लामा सम्भावित भीडभाड कम गर्ने विषयमा बैठक बस्न लागेका हुन् ।

भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले सम्भावित जोखिमलाई कम गर्न र अस्पतालहरुलाई तयारी अवस्थामा राख्ने विषयमा छलफल गर्न बकैठक बस्न लागेको जानकारी दिइन् ।

‘जिल्लाले गर्नसक्ने निर्णयहरु आजको बैठकबाट गर्छौं । स्वास्थ्य मापदण्डमा कडाइ गर्ने, सकारी अस्पतालहरुलाई तयारी अवस्थामा राख्नेलगायतका विषयमा आज हामी जिल्लामा छलफल गर्छौं । त्यसपछि सकेसम्म आजै वा भोलिसम्ममा संयुक्त बैठक बस्छौं,’ सिडिओ शर्माले भनिन् ।

साथै उनले खोप कार्यक्रममलाई अझै बढाउँदै लैजाने पनि बताइन् । सिडिओ शर्माले १८ वर्ष उमेरभन्दा माथिका नागरिकहरुलाई खोप लगाउने बताएकी हुन् । अहिले १२ देखि १८ सम्मका बालबालिकाहरुलाई खोप लगाइरहेका छौं । केहीदिनपछि १८ वर्षभन्दा माथिका नागरिकहरुलाई खोप लगाउने क्रम सुरु हुन्छ । हामीले भीडभाड हुने क्षेत्रमा कडाई गर्ने तयारी गरेका छौ,’ शर्माले भनिन् ।

यता ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ओमिक्रोनको संक्रमण बढिरहेकाले थप कडाई गरिने जानकारी दिए । उनकाअनुसार यस विषयमा छलफल गर्न आज दउँसो साढे २ बजे बैठक बोलाएको छ । कोभिडको संक्रमणको ग्राफ बढ्दै गएको बताउँदै उनले मानिसहरुको चहलपहललाई घटाउनुपर्ने महसुस गरिएको बताए ।

उपाध्यायले भने, ‘स्वास्थ्य मन्त्रालयले प्राविधिक रुपमा गर्ने मार्गदर्शन र सीसीएमसीले गर्ने निर्देशन बमोजिम स्थानीय परिस्थिति अनुसार हामीले जिल्लाभित्र गर्नुपर्ने र काठमाडौं उपत्यकाभित्र एकीकृत रुपमा समन्वयात्मक विधिबाट काम गर्ने मनस्थिति बनाएका छौं, सीसीएमसीको निर्देशनपछि त्यसलाई औपचारिकता दिन्छौं ।’

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले संयुक्त बैठक बस्ने तयारी भइरहेको जानकारी दिएको छ । काठमाण्डौका सिडिओ गोविन्द प्रसाद रिजालले भीडभाडयुक्त क्षेत्रलाई कम गर्दै तीन जिल्लाको संयुक्त बैठक बस्ने तयारी भइरहेको जानकारी दिए ।

‘हामी कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को निर्णय कुरिरहेका छौं । एकदुई दिनभित्र काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख ज्ल्लिा अधिकारीसहितको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिन्छौं । प्रशासनको हकमा आन्तरिक बैठक बसेर लकडाउन अगाडि भीडभाड कम गर्ने निर्णय हुन्छ,’ उनले भने ।

गत शुक्रबार प्रधानमन्त्री कार्यालयमा सीसीएमसी निर्देशक समितिको बैठक बसेको थियो । बैठकमा सीमा नाकामा परीक्षणपछि संक्रमण पुष्टि भएका नागरिकलाई आइसोलसनको व्यवस्था गर्ने, खाने तथा बस्ने सुविधाको व्यवस्था गर्ने विषयमा पनि छलफल भएको थियो ।

बैठकमा पूर्ण मात्रा खोप लगाएकालाई बुष्टर डोजको व्यवस्था गर्ने विषयमा पनि भएको थियो । खोप व्यवस्थापनको प्रक्रिया तत्काल अघि बढाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। संक्रमणदर बढेमा चाँडै अर्को बैठकबाट स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्