सार्वजनिक सवारी प्रयोग गर्दै हुनुहुन्छ ? यो नियम हेर्नुहोस् (सूचना सहित)



काठमाडौ । कोभिड संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले सार्वजनिक यातायातमा यात्रा गर्दा पालना गर्नुपर्ने केही नियम लागू गरेका छन् । मंगलवार एक सूचना जारी गर्दै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सार्वजनिक सवारी साधनमा कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न आदेश दिएका छन्।

ललितपुर जिल्ला प्रशासन कार्यालयले मंगलबार विज्ञप्ति जारी गरेको विज्ञप्तीमा यस्तो आदेश छ । सार्वजनिक सवारीमा यात्रा गर्ने सबै यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नुपर्ने लगायत आदेश पनि सिडिओहरुले गरेका छन्।

केही दिनयता देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा मात्रै थप २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोभिडबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०७ पुगेको छ।

यस्तै मंगलबार ३१३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ५२२ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १० हजार ६४८ पीसीआर तथा ४ हजार ३८५ एन्टिजेन परीक्षण भएको छ। काठमाडौ उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप १ हजार २८६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ जना संक्रमित थपिएका हुन्।

यो पनि काठमाडौँ उपत्यकाका प्रजिअहरुको बैठकले संक्रमण नियन्त्रणका लागि बैठक, गोष्ठी र सेमिनारहरु भर्च्युअल माध्यमबाट गर्न आग्रह गरेको छ। बैठकपछि विज्ञप्ति जारी गर्दै प्रशासन कार्यालयहरुले भोतिक उपस्थतिमा यस्ता बैठक वा सभा सम्मेलन गर्नुपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने बताएको छ ।

स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व सम्बन्धित आयोजकको रहने र पालना नभएको पाइए कानुन बमोजिम कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन र निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न पनि सर्वसाधारणहरुसँग आग्रह गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्