कोभिड–१९ सङ्क्रमण वृद्धि भएपनि तत्काल विद्यालय वन्द नगर्ने निर्णय



कोभिड–१९ सङ्क्रमण दर उच्च देखिए पनि तत्काल विद्यालयहरू बन्द गर्ने सोचमा सरकार देखिएको छैन । तत्काल विद्यालयहरू बन्द नगर्ने सरकारी योजनाबारे मङ्गलबार सञ्चारमाध्यमले सूचना तथा प्रसारण मन्त्रालय स्रोतलाई उद्धृत गरी समाचारमा उल्लेख गरेका छन् ।

“संघीय सरकारलाई देशमा बढ्दो कोभिड–१९ सङ्क्रमणका घटनाको बारेमा जानकारी छ तर तत्काल पाकिस्तानमा पुनः लकडाउन वा विद्यालय बन्द गर्ने योजना बनाएको छैन,” मन्त्रीपरिषद् बैठक पश्चात पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले भन्नुभयो ।

मुलुकमा कोभिड–१९ सङ्क्रमण दर दोब्बर भएको जानकारी संघीय मन्त्रालयलाई जानकारी रहेको तर विद्यालय बन्दको सम्भावना तत्कालका लागि नरहेको पाकिस्तानी टेलिभिजन जियो न्यूजसँग बोल्दै मन्त्री चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उच्च सङ्क्रमण दरका बावजुद पनि हामीले पाकिस्तानमा लकडाउन वा विद्यालय बन्द गर्ने सोच बनाएका छैनौँ । अर्को लकडाउनको बोझ हाम्रो अर्थतन्त्रले बोक्न सक्दैन ।”

देशले कोरोनाभाइरसको सामना गर्न सक्ने कुरामा जोड दिँदै चौधरीले सरकारले तालाबन्दी नलगाउने तर परिस्थितिको अनुगमन जारी राख्ने बताउनुभयो । कोरोनाभाइरस फैलिन नदिन देशका जनतालाई मास्क प्रयोग गर्न पनि मन्त्रीले आग्रह गर्नुभयो ।

चौधरीले पाकिस्तानले ‘उत्कृष्ट’ कोभिड–१९ खोप अभियान चलाइरहेको पनि बताउनुभयो । संघीय सरकारले खोपमा दुई अर्ब अमेरिकी डलर लगानी गरेको उहाँले बताउनुभयो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्