आजको तथ्याङ्कले देखायो अनियन्त्रित हुँदै छ कोभिड, उपत्यका नै हट स्पट



काठमाडौ । दिनहुँ कोभिड संक्रमितको संख्या अनियन्त्रित तरिकाले बढेको छ । अघिल्लो दिनको तुलनामा अर्को दिन एक हजारको संख्यामा संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोभिड पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ मा संक्रमण पुष्टि भएको जनाएको छ।

कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ। त्यस्तै २७८ जना संक्रमणमुक्त भएका छन्। आज देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको मन्त्रालयले जनाएको छ। थपिएकाहरुमा सबैभन्दा बढी काठमाडौका छन् । काठमाडौं उपत्यकामा १४९८ संक्रमित थपिएका छन्। काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका छन्।

यो पनि भारतमा एकैदिन कोरोनाभाइरसका झन्डै दुई लाख संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा भारतभरि एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको बिबिसी हिन्दीले जनाएको छ। योसँगै भारतमा ९ लाख ५५ हजार बढी सक्रिय संक्रमित पुगेका छन्।

भारतमा पछिल्लो समय कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ। डिसेम्बर अन्तिमसम्म भारतमा दैनिक संक्रमितको संख्या १० हजारभन्दा कम थियो। ओमिक्रोन भेरियन्टसँगै आएको तेस्रो लहरमा संक्रमण दिन दुई गुणा रात चौगुणाका दरले बढिरहेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा भारतभर ४४२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। बुधबारसम्म भारतमा तीन करोड ५७ लाख बढीमा संक्रमण देखिएको छ भने ४ लाख ८४ हजार बढीले ज्यान गुमाएका छन्।

यसअघि डेल्टा भेरियन्ट फैलिँदा भारतमा एकैदिन कोरोना संक्रमित हुनेको संख्या चार लाख बढी पुगेको थियो। वोर्ल्डोमिटरका अनुसार गत मे ६ मा ४ लाख १४ हजार ४३३ जनामा संक्रमण भएको थियो। यो संख्या भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएको संख्या हो।

सबैभन्दा धेरै संक्रमित संख्या हुने राष्ट्रमा भारत दोस्रो स्थानमा छ। ६ करोड ३३ लाख ९० हजार ८७६ संक्रमितसहित अमेरिका पहिलो स्थानमा छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्