डरलाग्दो भयो कोभिड, अस्पतालले भन्यो ‘सामान्य अवस्थाका विरामी अस्पताल नआउनु’



काठमाडौ । कोभिड संक्रमित बढ्न थालेपछि अस्पतालले नै विज्ञप्ती जारी गर्दै अब सामान्य अवस्थाका विरामी अस्पताल नआउनु भन्दै आग्रह गरेको छ । चितवनको भरतपुर अस्पतालले सामान्य र पछि जाँच गराउँदा पनि हुने बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले शनिवार एक विज्ञप्ति प्रकाशित गरी सामान्य प्रकृतिका बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेका हुन्।

बढ्दै गएको कोभिड संक्रमणले सामान्य अवस्थाका विरामीलाई थप जोखिम हुने भएकाले अस्पताल नआउनु भनिएको हो । अस्पतालमा कोभिड संक्रमितको चाप पनि बढ्न थालेको छ । जिल्लामा सङ्क्रमण दर अत्यधिक बढेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को तेस्रो लहरस्वरुप विगत केही दिनदेखि नेपालमा कोभिड सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्दै गइरहेको सबैलाई जानकारी नै छ। यस सन्दर्भमा सामान्य र पछि जाँच गराउँदा पनि हुने प्रकृतिका बिरामी अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुन्छ।’

काठमाडौँको त्रिवि टिचिङ र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी पनि उच्च सङ्ख्यामा सङ्क्रमित भएको तथ्याङ्कलेसमेत अस्पतालमा एकअर्काबाट सङ्क्रमण फैलनसक्ने सम्भावना बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ। भरतपुर अस्पतालमा पछिल्लो दुई दिनको परीक्षणमा देखिएको कोभिड पोजिटिभ दर अति उच्च रहेको उल्लेख गर्दै पुस २९ गते १७२ जनाको परीक्षणमा ९५ जना अर्थात ५५ प्रतिशतमा पोजिटिभ देखिएको जनाइएको छ।

त्यस्तै पुस ३० गतेको १८६ जनामा गरिएको परीक्षणमा ११५ जना अर्थात ६१।२५ प्रतिशतमा पोजेटिभ देखिएको छ। भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो। यहाँ चितवनसहित छिमेकी १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन्।

यसअघिका कोभिडको सङ्क्रमण उच्च हुँदा यहाँ धेरैको उपचार गरिएको थियो। कोभिड सङ्क्रमण सुरु भएपछि नियमित सङ्क्रमितको उपचार अस्पतालमा हुँदै आएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्