पशुपतिको धर्मशाला देखेर म ‘सक’ भएँ : पर्यटनमन्त्री आले


banner

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताएका छन् ।

छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटेलजस्तो देखेर आफू सक भएको बताएका हुन् ।

छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउन बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको बताए ।

उक्त धर्मशाला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका थिए। भक्तजनलाई बसोबासका लागि सजिलो होस् भनेर भारतीय सरकारले भारू २५ करोड खर्चेर धर्मशाला बनाएको थियो।

‘यो धर्मशाला त यसो हेर्दा आलिसान होटलजस्तो छ। एकै रूमको ११ हजारसम्म शुल्क लाग्ने गरी दिइएको रहेछ,’ उनले भने, ‘धर्मशालाजस्तो रूप नभएर यो आधुनिक, सेभेन स्टार होटलजस्तो छ।’
आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको बताएका उनले जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

कोषका कोषाध्यक्ष नारायण सुवेदी संयोजक रहेको समितिले आवश्यक छानबिन गरेको छ।सुवेदीका अनुसार सोमबार अपरान्ह ४ बजे क्षेत्र विकास कोषको कार्यालयमा छानबिन प्रतिवेदन मन्त्री आलेलाई बुझाउने कार्यक्रम छ।

उक्त प्रतिवेदन हात परेपछि कहाँ के भइरहेको छ भन्नेबारे छलंग हुने मन्त्री आलेले बताए।‘पशुपति क्षेत्र विकास कोषबाट निर्णय नगरी केही काम गरेको देखियो। यस्तो गरिनु अवैधानिक हुन्छ,’ उनले भने, ‘भोलि प्रतिवेदन आएपछि आवश्यक निर्णय लिन्छौं।’ उनले दोषी देखिने कर्मचारीदेखि सबैलाई कारबाही गरिने पनि बताए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्