पशुपतिको धर्मशाला देखेर पर्यटनमन्त्री किन भए चकित् ?



काठमाडौ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर चकित भएका छन् । आइतवार विहान पशुपतिनाथ मन्दिर स्थित धर्मशालामा अनुगमनमा गएका मन्त्री आलेले आफु चकित भएको प्रतिकृया दिएका हुन् । वतास समुहले काम गरेका हरेक क्षेत्रमा निगरानी बढाएका मन्त्री आले आइतवार पशुपति क्षेत्र पुगेका थिए ।

त्यहाँ मन्दिर दर्शनका लागि आउनेहरुको सुविधाको लागि धर्मशाला निर्माण गरिएको छ । बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले ‘धर्मशाला त सेभेन स्टार होटेल’ जस्तो भन्दै आफू स क्ड भएको बताएका हुन् । धर्मशालाको सुविधा निकै महंगो भएको भन्दै गुनासो आएपछि मन्त्री आफै अनुगमनमा पुगेका हुन् ।

छानबिन समितिले भोलि प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउने मन्त्रीले जानकारी गराएका छन् । यस्तै उहाँले धर्मशाला सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा ५ हजार ५ सय र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको उनले बताए ।

आफूले कसैसँग राजनीतिक प्रतिशोध नसाँधेको उनको भनाइ छ । जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने मन्त्री आलेले प्रतिबद्धता जनाएका छन् ।

धर्मशाला हातामा बतास समूहले पूराना सवारी साधनको प्रदर्शनीसमेत गर्दै आएको छ । विशेषगरी पूरातात्विक महत्वका सम्पदा क्षेत्रमा आफ्नो व्यवसाय बिस्तार गर्दै आएको समूहले नारायणहिटीमा सञ्चालन गर्न खोजेको कफी शप सर्वाधिक विवादमा आए पछि वतास समुहले गरेका ब्यवसायीक क्षेत्रको निगरानी बढाइएको छ ।

बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि मन्त्री आले निरिक्षणमा पुगेका हुन् ।

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्र (तिलगंगा) मा धर्मशाला बनाइएको छ । भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्ने गुनासो धर्मावलम्बीहरुले गरेका छन् ।

यो धर्मशालामा महँगो होटल मात्रै छैन, बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्