धुर्मुस सुन्तलीविरुद्ध अख्तियारमा उजुरी दर्ता




काठमाडौँ। गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा लागेको धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोजना बीचमै अलपत्र पारेको खर्च सार्वजनिक नगरेको भन्दै फाउण्डेशनविरुद्ध सत्यतथ्य छानविन गर्न माग गर्दै उजुरी परेको हो ।

बागमाती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरी छानविन गर्न माग गरेका छन् ।अधिकारीले भन्नुभयो, ‘हामीले पटक पटक मापदण्ड र लागतमा ध्यानाकर्षण गरायौँ तर उहाँहरुले सुन्नुभएन। अहिले आयोजना अलपत्र पार्ने र कति रकम उठ्यो भन्नेसम्मको पारदर्शी हिसाबकिताब सार्वजनिक नगरेपछि उजुरी दिएको हुँ ।’उजुरी अधिकारीले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा दर्ता गराएको जानकारी गराए।

‘देश–विदेशमा रहेका नेपालीहरूबाट चन्दा संकलन र भरतपुर महानगरपालिकालगायतका सरकारी कार्यालयबाट ५७ करोडभन्दा बढी रकम उठाई हाल सो रंगशालाको सरकारी इञ्जिनियरहरूबाट मूल्यांकन गर्दा १७ प्रतिशत पनि निर्माण कार्य नगरी उल्टै १७ करोड ऋण तिर्नुपर्ने रकम देखाई परियोजना अलपत्र पारेर फरार रहेकोमा निजहरूलाई पक्राउ गरी आर्थिक अपचलन र ठगी मुद्दामा छानबिन गर्न माग गर्दछु’, उनले निवेदनमा लेखेका छन्।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै मोटो रकम उठाएर व्यापक भष्टाचार गरेको उनको आरोप छ। आयोगले धुर्मुस सुन्तली फाउन्डेसनविरुद्ध उजुरी परेको पुष्टि गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्