सीसीएमसीका प्रमुख सहित प्रधानमन्त्री कार्यालयका सचिवहरु पनि संक्रमित : सरकारले भन्यो, ‘६० वर्ष माथिका नागरिक घर वाहिर ननिस्कनु’



काठमाडौ । सरकारले ६० वर्षमाथिका नागरिकलाई घरबाहिर नजान अनुरोध गरेको छ । सरकारले जारी गरेको आदेशमा यस्तो उल्लेख छ । कोभिड महामारीको तेस्रो लहर नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशमा ६० वर्षभन्दा माथि उमेरका नागरिकलाई अत्यावश्यक नपरी घर बाहिर ननिस्कन आग्रह गरेका हो।

आदेशमा भनिएको छ, ‘६० वर्षमाथिका नागरिक, दीर्घ रोग भएका व्यक्तिलाई घर बाहिर नजान अनुरोध गर्ने र जानुपर्ने अवस्था भएमा जनस्वास्थ्यका मापदण्ड पालना गरी गन्तव्यसम्म पुग्न र फर्किन सहजीकरण गर्ने।’

यो पनि, मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नै कोभिड महामारीमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोभिड संक्रमण भएपछि त्रा स बढेको हो ।

प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोभिड भएको छ । प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई संक्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिए । थपलिया कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) का प्रमुख पनि हुन् । उनलाई कोभिड भएपछि सिसिएमसिसीको बैठक नै बस्न सकेको छैन ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ । संक्रमित सचिवहरू होमआइसोलेसनमा छन् ।

सिंहदरबारमा संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले पिसिआर परीक्षण गरेको छ । प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोभिड पुष्टि भएको छ ।

तर, सिंहदरबारभित्र कति कर्मचारी संक्रमित भए भनेर एकीकृत तथ्यांक छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार संक्रमण भएका कर्मचारीलाई कोभिड काज बिदा दिने गरिएको छ । यो बिदा बढीमा १४ दिन हुन्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्