दाहाल -नेपालको यस्तो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा, के गठबन्धन भत्केला ?




काठमाडौ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समजवादीका अध्यक्ष माधव कुमार नेपालको एक प्रस्तावले प्रधानमन्त्री शेर वहादुर देउवा अप्ठेरोमा परेका छन् । उता एमसीसी पास हुन नसक्दा अप्ठेरोमा रहेका प्रधानमन्त्री देउवालाई दुई नेताले थप समस्या उत्पन्न गराएका हुन् । सत्ता गठबन्धनमा रहेका यि दुई दलले तीनै तहको निर्वाचन एकसाथ गर्न प्रस्ताव गरेका छन् ।

नेकपा एमालेले स्थानिय तहको निर्वाचनको मिती घोषणा गर्न दववा दिएको बेलामा सत्ता गठबन्धनका दुई नेताले भने यस्तो प्रस्ताव गरेका हुन् । उनीहरुबीच नौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको बताइएको छ । आर्थिक भार कम हुने भन्दै दुई नेताले यस्तो प्रस्ताव गरेका हुन् । देउवा एमालेको प्रस्ताव अनुसार स्थानिय तहको निर्वाचनको मिति घोषणा गर्ने पक्षमा थिए ।

सत्ता गठबन्धनमै रहेका नेताहरुको यस्तो कुरा आएपछि उनी समस्यामा परेका हुन् । गठबन्धन जोगाउने की निर्वाचनको घोषणा गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले निर्णय लिइसकेका छैनन् ।सत्ता गठबन्धनका एक नेताका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस्तो प्रस्ताव राखिसकेका छन् ।

तीनवटै तहका निर्वाचन एकसाथ गरेर राज्यलाई कम आर्थिक भार बनाउन सकिन्छ भन्ने विकल्प दुई नेताहरुको भएको स्रोतले जनाएको छ । कोभिडका कारण आर्थिक अवस्था खस्किएको बेलामा फरक फरक मितिमा निर्वाचन गर्दा थप आर्थिक भार पर्ने प्रचण्ड र नेपालको भनाई छ ।

ती नेताका अनुसार प्रधानमन्त्रीले सत्ता गठबन्धनका नेताको कुरा नमाने सरकार नै अप्ठेरोमा पर्न सक्ने अवस्था रहेकाले निर्णय गर्न प्रधानमन्त्रीलाई अप्ठेरो परेको छ । संक्रमणबाट मुक्त भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाट थालेका हुन् । यस क्रममा प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका हुन।

आइतबार संक्रमणमुक्त भएपछि उनी बिहानै प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए। यस्तै देउवा र प्रचण्डबीच सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति पनि भएको छ। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार मंगलबार बिहान ९ बजेका लागि संयन्त्रको बैठक बोलाउने तय भएको छ।

‘निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मिति सिफारिस गरिसकेको छ। सरकारले यसबारे निर्णय गर्नुपर्ने छ,’ देउवा निकट एक नेताले भने, ‘अब संयन्त्रको बैठकमा यस विषयमा छलफल भएपछि निर्णय होला।’ सत्ता गठबन्धनमा रहेका दलहरुबीच स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएपछि सरकारले आवश्यक निर्णय गर्ने तयारी गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्