अन्तत: टुंगो लाग्यो प्रदेश २ को स्थायी राजधानी


banner

काठमाडौ । प्रदेश २ को स्थायी राजधानी निश्चय भएको छ । मतदानवाट राजधानी टुंगो लागेको हो । सोमवार भएको निर्वाचन पछि प्रदेश २ को राजधानी जनकपुरधाम निर्धारण भएको छ । प्रदेश २ मा लामो समय देखि प्रदेश राजधानीको विषयलाई लिएर प्रदर्शन र विरोध जारी थियो ।

प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको हो ।

यो प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केबर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ । संविधानमा प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले तोक्ने प्रावधान छ ।

उक्त प्रस्ताव दुई तिहाइभन्दा बढी मतबाट पारित भएसँगै प्रदेशको राजधानीसम्बन्धी अन्य प्रस्तावमाथि निर्णयार्थ कारवाही गरिएन । प्रदेशसभामा प्रदेशको राजधानी वीरगञ्ज (पोखरीया नगरपालिका, सखुआ प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, जीतपुर–सिमरा निजगढ हुँदै समरौनगढसम्म० तोक्ने प्रस्ताव र वीरगञ्ज महानगर तोक्ने प्रस्ताव पनि पेस भएको थियो ।

जनकपुरधाम राजधानी कायम गर्ने प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको दुई तिहाइ मत प्राप्त भएपछि जनकपुरधाम नै स्थायी राजधानी कायम भएको हो। २०७४ सालयता जनकपुर नै अस्थायी राजधानीको रुपमा रहँदै आएको थियो।

सोमबारको प्रदेश सभामा सबै प्रस्तावकहरुहरुको तर्फबाट परमेश्वर साहले प्रस्ताव पेस गरेपछि मतदान भएको थियो। सो प्रस्तावमा संसद्को दुई तिहाइ मत नआएमा दोस्रो प्रस्ताव र त्यसमा पनि दुई तिहाइ मत नआए तेस्रो प्रस्तावमा मतदान हुने समितिको सिफारिसमा उल्लेख थियो। तर अब ती प्रस्तावमा मतदान हुने छैन।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्