प्रदेश २ को स्थायी राजधानी तोकियो, अब कहाँ हुने भयो राजधानी ?




जनधकपुरधाम : प्रदेश २ को राजधानी जनकपुर पारित भएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको राजधानी जनकपुरलाई बहुमतले पारित गरेको हो । जनकपुर र वीरगञ्ज दुईवटा नाम प्रस्ताव भएकोमा जनकपुरलाई दुई तिहाइ बहुमतले पारित गरेको हो । मतदानमार्फत प्रदेश २ ले राजधानीको नाम टुंगो लगाएको हो ।

प्रदेशसभामा भएको निर्वाचनमा जनकपुरको पक्षमा ७८ मत खसेको हो । जुन दुई तिहाइ बहुमत छ । विपक्षमा २६ मत परेको थियो । १०४ सदस्यीय प्रदेशसभामा दुई तिहाइ बहुमतका लागि ७० मत आवश्यक पर्छ ।

दुई तिहाइभन्दा बढी मतले स्थायी राजधानी जनकपुर तोकेको सभामुख सरोजकुमार यादवले घोषणा गरेका हुन्। जनकपुरको उत्तरमा धनुषा ढल्केवरको पूर्व-पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारतको दशगजा सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाक्षेत्र भित्रको सम्पूर्ण भू-भाग सिमाना कायम गरिएको छ।

राजधानीका लागि वीरगञ्ज, वीरगञ्ज महानगर पनि चर्चामा थियो। दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन । स्थायी राजधानीको टुंगो लगाएसंगै प्रदेश सभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयका अनुसार आजै प्रदेशको नाम सम्बन्धी प्रस्ताव अगाडि बढाउने तयारी छ ।

प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्