प्रदेश २ को नाम मधेश, स्थायी राजधानी जनकपुर




जनकपुरधाम : प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ ।
प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो ।

१०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो ।

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो।

योसँगै संसदीय समितिले प्रस्ताव गरेका नामहरू ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वतः निष्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरेका थिए।

यसअघि राजधानीका लागि भएको मतदानमा जनकपुर राजधानी प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो।

सभामुख सरोजकुमार यादवले प्रदेशको नाम तोक्नका लागि आवश्यक दुई तिहाई मत पुगेकाले प्रस्ताव स्वीकृत भएको घोषणा गरे पछि प्रदेशको नाम मधेस पारित भएसँगै नामकरण सम्बन्धमा पेस भएका अन्य प्रस्ताव निस्क्रिय भएका छन् ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्