अघिल्लो महामारीलाई पनि उछिन्दै कोभिड, एकै दिन १० हजार भन्दा बढी संक्रमित



काठमाडौ । कोभिडको तेस्रो लहरको महामारीले अघिल्लो पटकका महामारीलाई पनि उछिन्ने संकेत देखाएको छ । मंगलवार मात्र पछिल्लो २४ घण्टामा १० हजार बढीमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । एकै दिन यति धेरै संक्रमित भएको यो लहरमा पहिलो पटक हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ। हालसम्म पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना निको हुँदा कुल ११ हजार ६२४ जनाको मृत्यु भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले खोप लगाएका छन् ।

यो पनि, सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिष्टारसहित ३१ जनामा कोभिड संक्रमण देखिएको र संक्रमण तीव्र गतिले फैलिएको भन्दै सेवा कटौती गरिएको छ। मंगलबार बसेको सर्वोच्च अदालतका सबै न्यायाधीशको फुलकोटले संक्रमण न्यून गर्न भन्दै माघ ५ देखि १८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको प्रवक्ता बाबुराम दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

फुलकोटले मौलिक हकसँग सम्बन्धित रिट निवेदन, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी, थुनुवाका निवेदन र मु द्दा, हेर्दाहेर्दै र निसुमा रहेका मु द्दा, सरकारवादी मु द्दामा प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ मात्र गर्ने निर्णय गरेको छ।

अदालतमा भिडभाड हुन नदिन आलोपालो मिलाएर अदालतको काम कारबाही गर्ने, टेलिवर्क वा अन्य तरिकाबाट निवास वा स्टेसनमा रहेर कार्यसम्पादन गर्न मुख्य रजिष्टारले आवश्यक व्यवस्था मिलाउनुपर्ने फुलकोटको निर्णय छ। तल्ला अदालतहरूले पनि अवस्था अनुसार सेवा प्रवाहको व्यवस्था मिलाएर जानकारी पठाउन निर्देशित गर्ने निर्णय पनि गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्