नेपालमा भुसको आगो जसरी फैलिएको छ ओमिक्रोन, नेपालमै देखिन थाल्यो यस्तो संकेत



काठमाडौं : नेपालमा भाइरस संक्रमण दर बिजुली गतिमा बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार संक्रमित थपिएका छन् । २२ हजार आठ सय २८ जनामा परीक्षण गर्दा १० हजार दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो नेपालमा संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो ।

यस अवधिमा पाँच सय ६२ जना निको भई घर फर्किएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या एक रहेको छ । नेपालमा सक्रिय संक्रमितकाे संख्या ३९ हजार ४४ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

यस्तै छिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ सय ८९ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ३ हजार ७२३, ललितपुरमा ९१६ र भक्तपुरमा ५५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा पुष्टि भएको छ।

वैशाखमा संक्रमणको दोस्रो लहरमा डेल्टा भेरियन्ट फैलिएपछि सुरुमै अस्पताल भरिभराउ भएका थिए। संक्रमित धेरैलाई त्यो वेला अक्सिजन आवश्यक परेको हुँदा अस्पताल भरिभराउ भएको थियो।

अहिले पनि संक्रमण तीव्र गतिमा फैलिरहेको छ तर अस्पताल भर्ना भएर उपचार गराउने संख्या कम देखिन्छ। यसरी संक्रमित बढ्दै जाँदा पनि अस्पतालमा उपचार गर्न जाने संक्रमितको संख्या निकै कम छ। डेल्टा भेरियन्टले फोक्सोमा सिधा आ’क्रम’ण गर्ने भएकाले बिरामीलाई अक्सिजन र आइसियू चाहिँदा अस्पतालमा चाप थियो।

तर यसपालि भने प्रायलाई जिउ दुख्ने, घाँटी ख’सख’स हुने र सामान्य ज्वरो आउने लक्षण मात्र देखिएको हुँदा धेरै संक्रमित घरमै रहेको बताउँछन्‚ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन। ‘कडा लक्षण नहुँदा अस्पताल आउने संक्रमितको संख्या कम भएको हो’‚ उनले भने।

पहिलो र दोस्रो लहरको तुलनामा पछिल्लो केही दिनयता बढेको संक्रमणदर अनुसार अस्पताल भर्ना हुने संख्या कम देखिएको बताउँछन्‚ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल। ‘बढ्दो संक्रमणको तुलनामा अस्पताल भर्ना हुने संख्या हालसम्म योपटक कम छ’‚ उनले भने।

अस्पताल भर्ना हुने संख्या कम देखिए पनि विगतको तुलनामा ​योपटक संक्रमण तीव्र गतिमा फैलिरहेको समेत डा. पौडेलले बताए।यसअघि पहिलो र दोस्रो लहरको तुलनामा अहिले मानिसको आवागमन नरोकिएको हुँदा संक्रमण भित्रभित्रै झनै फैलिएको हुनसक्ने उनले बताए।

पहिलो लहर र दोस्रो लहरमा जस्तो आवतजावतमा अहिले कडाइ नभएको हुँदा संक्रमण सर्ने सम्भावना धेरै रहेको उनको भनाइ छ। ‘डेल्टा भेरियन्टको संक्रमण कम भएका वेला संक्रमण पुनः बढेको छ, लक्षण भएका जति सबैले परीक्षण गराएका पनि छैनन् होला। थोरै मान्छेले परीक्षण गरेकाले संक्रमितको संख्या पनि सोहीअनुपातमा देखिए पनि ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिरहेको हुनसक्छ’‚ उनले भने।

धेरै जनामा कडा लक्षण नदेखिदा अस्पताल भर्ना हुने संख्या कम भएको समेत उनको भनाइ छ। संक्रमितको संख्या बढेको अवस्थामा पूर्ण रोक नहुँदा संक्रमण फैलिरहेको समेत उनको भनाइ छ।

अहिले बढ्दो क्रममा रहेको र अझै १०/१२ दिन संक्रमण अझै बढ्न सक्ने समेत डा. पौडेलले बताए।‘अहिले संक्रमण बढ्दो क्रममा छ। यो अवस्था अझै १०/१२ दिन रहन्छ। त्यसपछि अलि कम हुँदै जान्छ। हाम्रो यसअघिको अनुभवले पनि यही देखाउँछ’‚उनले भने।

यो संगै स्वास्थ्य सचिव रोशन पोखरेलले स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा रहेको बताएका छन् । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै स्वास्थ्य सचिव पोखरेलले भने, ‘हामी लडकडाउनको पक्षमा छैनौं । भीडको मात्रै चिन्ता छ । भीड नियन्त्रण हामीले मात्रै गर्न सक्दैनौं । भीड नियन्त्रण होस् । स्वास्थय मन्त्रालय लडकडाउनको विरुद्धमा छ ।’

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले रोकथाम सम्बन्धी अर्को आदेश जारी गरेका छन्। संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय (ललितपुर,भक्तपुर र काठमाडौं) ले एकै प्रकारका आदेश जारी गरेका हुन्। जिल्ला प्रशासन कार्यालयहरुले सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्त सम्मलाई रोक लगाएको छन्।

यस्तै, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ गतेसम्म सञ्चालनमा रोक लगाइएको छ।

गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न पनि प्रशासन कार्यालयले निर्देशन जारी गरेका छन्।

विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु माघ १५ गतेसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने पनि जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख छ।

मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा माघ मसान्तसम्म नित्य पूजा र प्रार्थना मात्रै गर्ने गराउने पनि नयाँ आदेशमा भनिएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्