२४ लाख बुस्टरडोज खोप कसरी भयो गायब ?




विभिन्न देशबाट नेपाल भित्रिएकोमध्ये करिब २४ लाख डोज बुस्टरडोज खोप ‘गायब’ भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहुँचको आधारमा बिनादर्ता खोप लगाउनेहरु अत्यधिक हुनाले उक्त संख्या सरकारी तथ्यांकमा नदेखिएको हो ।

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले संसदका शिक्षा तथा स्वास्थ्य समितिमा मंगलबार कोरोनाभाइरसको पछिल्लो अवस्था र खोपको प्रगतिबारे जानकारी गराएका थिए । त्यस क्रममा उनले विभिन्न दाताबाट नेपालल प्राप्त गरेको र खरिद गरेकोमध्ये २० देखि २४ लाख डोज खोप लगाएको तथ्याङ्क नभएको बताएका हुन् । खोप कार्ड नबनाएरै खोप लगाउने गरेको उदाहरणहरु देखिएको उल्लेख गर्दै उनले यसको एकीन विवरण सरकारसँग नभएको समेत बताए ।

शहरी क्षेत्रमा अधिकांशले तेस्रो डोज लगाए पनि त्यसको दर्ता नरहेको पोखरेलको भनाइ छ । अधिकांश स्वास्थ्य संस्था तथा खोप केन्द्रहरुमा पहुँचका आधारमा खोप लगाउनेको संख्या समेत ठूलो रहेको उनले बताए । सहरका मानिसले पहिलो डोज भन्दै तेस्रो डोज पनि लगाएको र खोप कार्डबिनै पहिलो र दोस्रो मात्रा पनि लगाएकाले खोपको हिसाबकिताब नमिलेको उनले उल्लेख गरे ।

विभिन्न मित्रराष्ट्रबाट प्राप्त खोपको म्याद कम रहेको र केही खोप प्राविधिक कारणले खेर जाने गरेकाले पनि खोपको संख्यामा यकिन नहुने जानकारी सचिव पोखरेलले दिएका थिए । तेस्रो डोज लगाउनेको यकिन तथ्यांक राख्ने प्रयास मन्त्रालयले गरिरहेको उनको भनाई छ ।

अधिकांश सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, उच्च ओहदाका कर्मचारी, नेता तथा मिडियाकर्मीले समेत तेस्रो मात्रा लुकीछिपी लगाइरहेको पाइएको छ । पहुँच हुनेले तेस्रो मात्रा लगाइसक्दा पनि सरकारी संयन्त्रले भने पहिलो र दोस्रो मात्रा लगाएकाहरूको रेकर्ड दुरुस्त राख्न सकेको छैन ।

सरकारले भने नियम मिचेर खोप लगाउनेलाई क्यूआर कोड उपलब्ध नगराउने जनाएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले यो समस्याबारे आफूहरुलाई जानकारी प्राप्त भएको बताउँदै मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको बताइन् ।

‘खोप लगाएर मात्रै त भएन, प्रमाणपत्र पनि चाहिन्छ,’ उनले भनिन्, ‘सरकारले नीति नै बनाएको छैन भने प्रमाणित कसरी गर्ने’ अनलाइन दर्ता प्रणालीलाई व्यवस्थित बनाउनेबारे मन्त्रालयमा छलफल भैरहेको समेत उनले बताइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्